News Portal

  • रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितकाे नाराबाजी

    जनगर्जन संवाददाता२०८१ आश्विन ७
    ७२ पटक

    पोखरा । कास्कीका सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कास्कीमा नाराबाजी सहित प्रदर्शन गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालयकाे गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

    सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएकाे कास्की प्रहरी स्रोतले जनाएकाे छ । जिल्ला प्रशासन तथा शहीद चाेक आसपासमा सुरक्षाकर्मी व्यापक मात्रामा खटाइएकाे छ ।

    विभिन्न सहकारीमा भएकाे अपचलनबारे छानबिन गर्न बनेकाे विशेष संसदीय समितिकाे सिफारिस र गृहमन्त्री रमेश लेखककाे निर्देशनपछि आइतबार गाेरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जाेशीलाई पक्राउ परेर पाेखरा ल्याइएकाे छ । जाेशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

    जाेशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेटबाहिर भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेकाे भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चाेककाे चाैतारामा भेला भएर प्रदर्शन गरेका छन् ।

    झन्डै डेढ अर्ब अपचलन भएकाे सूर्यदर्शन सहकारीबाट गाेर्खा मिडियामा ५ कराेड रूपैयाँ देखिएकाे छ । सहकारीका अध्यक्ष जीबी राईलाई भगाउन पनि रविकै संलग्नता रहेकाे आराेप पीडित संघर्ष समिति संयाेजक किरण श्रेष्ठले बताएका छन

    प्रतिकृया दिनुहोस्