
पोखरा, वैशाख १३ । अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) का तत्कालीन महासचिव तथा महान सहिद पुर्ण पौडेललाई बेपत्ता पारिएको २३ औं वर्षको सन्दर्भमा शनिबार पोखरामा विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। पुर्ण पौडेल प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले पौडेलको क्रान्तिकारी स्वभाव, निष्ठा र लक्ष्यप्रतिको इमानदारीता स्मरण गर्दै, बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक गर्न राज्य गैरजिम्मेवार र उदासीन रहेको आरोप लगाए।
बेपत्ता परिवार समाजका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले पुर्ण पौडेललाई जुझारु र अत्यन्तै प्रतिभावान लिडरका रूपमा स्मरण गरे। उनले बेपत्ता योद्धाहरूको सार्वजनिकताको विषय राजनीतिक भएको भन्दै राज्य र सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। साथै, संविधानमा व्यवस्था भए तापनि पीडितलाई न्याय र दोषीलाई कारबाहीको प्रावधान कार्यान्वयन नभएको गुनासो गर्दै, अब दलाल पुँजीवादको विकल्पमा समाजवादको कार्यान्वयन अगाडि बढाउनु पर्ने बताए।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफू २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदा पुर्ण पौडेलसँग सहकार्य गरेको स्मरण गरे। उनले पौडेललाई अत्यन्त हिम्मतिलो विद्यार्थी नेता भनी वर्णन गर्दै, संकटकालमा एमाले पार्टीमा रहे पनि जनयुद्धलाई सहयोग गरेको उल्लेख गरे। साथै, अहिले सबै कम्युनिस्ट शक्तिहरू एक जुट भएर सामाजिक परिवर्तनको यात्रा अघि बढाउनुपर्नेमा जोड दिए।
माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी (हिमाल) ले धौलागिरी र कास्कीमा पुर्ण पौडेलसँग लामो सहकार्य भएको बताए। उनले कास्कीमा पुर्ण पौडेल र विजय ढकाल जस्ता नेताहरूको योगदानले माओवादी आन्दोलनलाई उचाइमा पुर्याउन सक्ने बताएका थिए।
त्यस्तै, नेकपाका पोलिटब्युरो सदस्य राजन सीले पुर्णसँगको सहकार्य स्मरण गर्दै, उनले विद्यार्थी मात्र नभई सेना र युवाहरु समेत समेट्ने भूमिका निर्वाह गरेको बताए। अहिले प्रतिगमनकारी शक्तिहरू सक्रिय भएको उल्लेख गर्दै, अग्रगमनका पक्षमा सबै एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।
बामपन्थी नेता शिव खनालले २०४६/४७ सालदेखि पुर्ण पौडेल र उनको परिवारसँग सहकार्य रहेको जनाउँदै, जनयुद्ध अघि बढाउन उनीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
सहिद विजय ढकालकी बहिनी सृजना ढकालले पुर्ण र विजय ढकालको मित्रता र आन्दोलनमा सहकार्यको सम्झना गर्दै भावुक मन्तव्य राखिन्।
पुर्ण पौडेलकी जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य साबित्रा सी (आस्था)ले पिएन क्याम्पसमा सहकार्यबाट शुरु भएको सम्बन्ध प्रेम र विवाहमा परिणत भएको स्मरण गर्दै, दु:खद परिस्थितिमा समेत पुर्णले क्रान्तिप्रति देखाएको समर्पण, इमानदारिता र बहुप्रतिभाको उल्लेख गरिन्। उनले सहिद र बेपत्ता परिवारको सपना पूरा गर्न निरन्तर संघर्षमा रहेको बताइन्।
कार्यक्रममा पौडेलका स्कुल र क्याम्पसका सहपाठी तथा धौलागिरी, गण्डकी क्षेत्र र विद्यार्थी महासचिव हुँदा सहकार्य गरेका राजनीतिककर्मीहरूले विभिन्न कालखण्डका अनुभवहरू प्रस्तुत गरे। जनयुद्धमा पुर्णसँग सहकार्य गरेका राम विवसले ‘तिमी नहुँदा’ शीर्षकको कविता वाचन गर्दै कार्यक्रमलाई भावुक बनाएका थिए।
माओवादी आन्दोलनका नेताकार्यकर्ता, पौडेलकी आमा मोतीमाया पौडेल लगायत परिवार र आफन्तजनको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केदार पौडेलले अध्यक्षता गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य बेपत्ता योद्धा चमनलाल बरालकी छोरी सङ्गिता बरालले दिएकी थिइन् भने कार्यक्रम सञ्चालन पुर्ण पौडेलकी बहिनी तथा नेकपा (माओवादी केन्द्र) नेतृ तेजकुमारी पौडेलले गरेकी थिइन्।