News Portal

पिएन क्याम्पसका विभागीय प्रमुख देवीलाल शर्मा बर्खास्त, शैक्षिक भ्रमणमा जातीय विभेदको आरोप

जनगर्जन संवाददाता२०८२ जेठ १
३३ पटक

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पिएन क्याम्पस) का व्यवस्थापन अनुसन्धान विभाग प्रमुख देवीलाल शर्मा शैक्षिक भ्रमणका क्रममा जातीय विभेद गरेको आरोप लागेपछि बर्खास्त भएका छन्।

क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकका अनुसार उपप्राध्यापक शर्मालाई मंगलबार विभागीय प्रमुखको जिम्मेवारीबाट हटाइएको हो। वैशाख २६ गते मात्रै उनलाई विभागीय प्रमुखको रूपमा नियुक्त गरिएको थियो।

शर्मामाथि एमबिए तेस्रो वर्षका एक विद्यार्थीले वैशाख २५ देखि २९ गतेसम्म भएको शैक्षिक भ्रमणका क्रममा सिन्धुलीमा मादक पदार्थ सेवन गरी जातीय र अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेको गम्भीर आरोप लगाएका छन्।

“सरले मादक पदार्थ सेवन गरेर मलाई जातीय विभेदजन्य तथा अश्लील शब्द प्रयोग गर्दै गाली गर्नुभयो, जुन सुन्नै नसकिने थिए,” पीडित विद्यार्थीले बताए। उनले शर्मा आफ्नो शैक्षिक प्रमाणपत्र नचल्ने र भविष्य अन्धकार हुने भन्दै धम्कीसमेत दिएको दाबी गरेका छन्।

क्याम्पस प्रशासनसँगको छलफलमा अन्य सहभागीहरूले समेत गालीगलौज भएको पुष्टि गरे पनि उपप्राध्यापक शर्माले आरोप अस्वीकार गरेका छन्।

यस घटनापछि पृथ्वीनारायण क्याम्पसमा रहेको दलित विद्यार्थी समाजले विज्ञप्ति जारी गर्दै गम्भीर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

पीडित विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा औपचारिक उजुरी दिएका छन्। कास्कीका प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले विद्यार्थीले जातीय विभेदको गुनासो लिएर प्रहरी कार्यालयमा आएको पुष्टि गर्दै भने, “कानुनी कारबाहीका लागि जाहेरी परेपछि अनुसन्धान अघि बढाइनेछ।”

यस घटनाले शैक्षिक संस्थाभित्रको जातीय समावेशीता र शून्य सहिष्णुता नीतिमा गम्भीर प्रश्न उठाएको छ।

 

 

प्रतिकृया दिनुहोस्