News Portal

मुस्ताङको लोमान्थाङमा बाढी, कालीगण्डकी तटीय क्षेत्रमा उच्च सतर्कता

जनगर्जन संवाददाता२०८२ आषाढ २४
१५ पटक

काठमाडौ । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा आज अपरान्ह आएको बाढीपछि कालीगण्डकी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

लोमान्थाङ गाउँपालिका–४ स्थित नम्दो खोलामा अपरान्ह साढे ५ बजेतिर बाढी आएको हो। बाढीको कारण मुस्ताङको तटीय क्षेत्र जोखिममा पर्न सक्ने देखिएको भन्दै प्रशासनले नदी किनारमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार बाढी कालीगण्डकी नदीमा मिसिएपछि थप सतर्कता अपनाइएको हो। “खोलाको सतह अहिले घटेको देखिएको छ तर बाढी कालीगण्डकीमा मिसिसकेकाले जोमसोमभन्दा तलका बस्तीहरूमा सतर्कता अपनाइएको छ,” उनले बताए।

मौसम सफा रहेको बेला बाढी आएकोले यसको कारण खुल्न सकेको छैन। बाढी तिब्बतबाट आउने खोला नम्दोमा आएको हुँदा सम्भवतः त्यहाँ पानी परेर वा कुनै हिमताल फुटेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यकिन विवरण भने आउन बाँकी छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यतिबेला जोमसोमदेखि तल्लो क्षेत्रसम्मका बासिन्दालाई सचेत रहन र नदी किनारबाट टाढा बस्न प्रशासनले अनुरोध गरेको छ।

स्थानीय प्रशासनले नागरिकलाई अफवाहमा नपरी सावधानीपूर्वक रहन आह्वान गर्दै स्थिति मूल्याङ्कन भइरहेकाले थप जानकारी पछि दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्