News Portal

  • हतारिदै बैद्यसंग एकता गरेका कञ्चन लत्तारिदै फुटे

    वसन्त वि. क.२०८१ साउन ३
    ४१९ पटक

    काठमाडौ । हतारिदै र लत्तारिदै एकबर्ष अघि बैद्यसंग एकता गरेका कञ्चन अन्ततः हतारिदै र लत्तारिदै फुटेका छन । वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीसंग कञ्चनले २०८० साल बैसाख १८ गते हतारमा एकता गरेका थिए ।

    उनले विप्लवलाई चुनौती दिन पार्टी छोडेर नेकपा बहुमत पनि गठन गरे । त्यही नेकपा बहुमतलाई एकवर्ष पनि चलाउन नसकेर कञ्चनले पार्टी एकताको नाममा वैद्यसंग बुझाएका थिए ।

    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा पार्टी अध्यक्ष ताकेका कञ्चनको महाधिवेशनमा त्यो सपना पुरा हुने सम्भावना नदेखिएपछि हतारमा पार्टी एकता भंग गरेको एक केन्द्रीय सदस्यले बताए ।

    जसले गर्दा असोजमा पार्टीको महाधिवेशन तोकिएपनि महाधिवेशन अघिनै उनले पार्टी फुटको घोषणा गरे ।

    उनको लागि ‘भुईको खाजा उठाउन खोज्दा पोल्टाको पनि पोखियो’ भने जस्तै भयो । नेकपा बहुमत बनाउदा उनलाई नजिकबाट साथदिएका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) ले भने कञ्चनको साथ छाडेका छन ।

    उनले पार्टी संयोजक मोहन वैद्य (किरण) लाई साथ दिएका छन । धेरैजसो नेता कार्यकताहरु बैद्यसंग रहदा कञ्चनलाई एकताले फाईदा नभई घाटा भयो ।

    यस्तै कञ्चनसंगै एकतामा गएको पूर्णसिंह नेतृत्वको समूहले पनि उनलाई छाडेको छ । सिंह समूहले यसअघि नै वैद्यको पार्टीबाट अलग भएको घोषणा गरेर श्रमिक कम्युनिष्ट पार्टी गठन गरेको छ ।

    कञ्चन समर्थक नेता कार्यकर्ताहरुले पनि कञ्चनकै निकै आलोचना गरेका छन । वैद्यले क्रान्ति नगर्ने निश्कर्ष निकाल्दै विप्लवको नेतृत्वमा कञ्चन र सुदर्शनहरु ०७१ सालमा वैद्यबाटै अलग भएका हुन । फेरी वैद्यले नै क्रान्ति गर्ने विश्वास गरेर कञ्चन र सुदर्शनहरु वैद्यतिरै फर्किएका थिए ।
    तर बैद्यसंग एकता भएको करिब एकबर्ष पछि पुनःकञ्चन हतार र लत्तारमा फुटमा पुग्न बाध्य भएका हुन ।

    कञ्चनले साउन १ गते एक प्रेश विज्ञप्ति जारी गर्दै एकतालाई सुदृढ गर्न आफ्नो तर्फबाट कैयौ प्रत्यनहरु भएपनि सफल नभएको र एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएको भनेका छन ।

    कञ्चनले एकता असफल भएको घोषणा मात्र गरेनन् लामो वक्तव्यमा हतारमा एकता गरेकोमा आत्मालोचना समेत व्यक्त गरेका छन । पार्टीमा जनवादी क्रान्ति कि समाजवादी क्रान्ति ? भन्ने कार्यदिशामा चरम मतभेद भएकोले एकता भंग गर्नु परेको कञ्चनले बक्तव्यमा भनेका छन ।
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक किरणले साउन २ गते एक वक्तव्य जारी गरी महाधिवेशनको मिति तोकिसकिएको बेला त्यस अघिनै एकता भंगगर्नु जाहेज नभएको बताएका छन । उनले एकताभंगको निर्णय फिर्ता गर्न पनि कञ्चनलाई आग्रह गरेका छन ।

    तर उनीहरु बिचको एकता जोगिने र अगाडि जाने अवस्था छैन । कञ्चनले नयाँ पार्टी नै बनाउने तयारी गरेका छन ।

    वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सह –संयोजक समेत रहेका नेता कञ्चनका यी गतिविधिहरु एउटा परिपक्क राजनीतिज्ञमा हुने गुण नभएको राजनीतिक विश्लेषकहरु बताउछन ।

    कसरी भएका थिए ? विप्लवबाट अलग !

    विप्लव नेतृत्वको नेकपाले २०७९ साल वैसाखको स्थानीय निर्वाचन प्रयोग गर्ने नीति लियो । यो नीतिले पार्टीमा विवाद सृजना गर्यो ।
    हुन त यो नीतिको पक्षमा कञ्चन र सुदर्शन स्वयम सुरुमा सहमत थिए । तर पछि एकाएक उनीहरु विरोधमा उत्रिए । चुनाव प्रयोग गर्दा संशोधनवादी भईन्छ भनेर उनीहरुको दाबी थियो । जसले गर्दा पार्टीमा चर्को विवाद सुरु भयो ।

    कम्युनिष्ट पार्टीले तत्कालिन पार्टीका सचिवालय सदस्य दोय कञ्चन र सुदर्शनलाई पार्टीमा अराजकतावादी,अवसरवादी र विचलनवादी गतिविधि गरेको भन्दै २०७९ साल वैसाख १४ गते अनिश्चितकालिन जिम्मेवारीबाट मुक्त गर्यो । यो उनीहरुको लागि सुधारको अवसर थियो ।

    पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र भएको भन्दै पार्टीमा अराजकतावादी,अवसरवादी र विचलनवादी गतिविधि गरेकोले अनिश्चितकाल पदमुक्त गरेको दाबी गरे ।
    विप्लवले समस्याको चुरोकुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखिनै सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय भएको र कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गंभीर छलफल चलेको बताए ।

    महासचिव विप्लवले २०७९ सालको वैसाख १४ गते एक विज्ञप्ति जारी गरेर कञ्चन र सुदर्शनको गतिविधिवारे प्रष्ट पारेका हुन । विप्लवले त्यतिवेलै चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु एकदमै गलत तर नियोजित प्रचार भएको ठोकुवा गरे ।

    उनले बक्तव्यमा भनेका थिएन “चुनावकै कुरा गर्दा गएको असोज कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजारकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राख्नु भएको थियो र जिल्लाका कमरेडहरुले प्रश्नसमेत गर्नु भएको थियो । अनि कञ्चन कमरेडले नवौँ पूर्ण बैठक देखिने राष्ट्रपति प्रणालीको प्रस्ताव महासचिवले पेस गर्नु पर्ने धारणा राख्दै आउनु भएको थियो, जुन विषय कार्यनैतिक रुपले चुनावमा स्वतन्त्र उम्मेदवार पठाउने भन्दा पनि गलत हुन्छ । उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन मार्क्सवादको विश्लेषण हुन्छ ! यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुदैन ।”

    नेकपाबाट पदमुक्त भएपछि २०७९ साल वैसाख तेस्रो हप्ता अपरिपक्क फुटको निर्णय गरेका धर्मेन्द्र वास्तोला (कञ्चन)ले नेकपा वहुमत गठन गरे । कञ्चनले पार्टी चुनावमा भाग लिन लागेको वाहाना बनाएर विप्लवबाट अलग भए । उनले नेकपा चुनावमा गएर संशोधनवादी भएको आरोप मात्र लगाएनन् अबको क्रान्तिको नेतृत्व नेकपा वहुमतले गर्ने घोषणा गरे ।
    तर दिन र समय वित्तै गयो । उनले हतारमा वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीसंग पार्टी एकता गरे ।

    पार्टी एकताबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नामकरण गरे । यो पार्टीले मात्र नेपालमा क्रान्ति गर्ने र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबिच एकताको आरम्भ भएको उद्घोष गरे । मोहन वैद्य र कञ्चनले क्रान्तिकारीहरु बिचको फुट होइन, अब एकताको सुरुवात भएको एकता सभामा घोषणा गरे ।

    तर आज हतारमा वैद्यसंग एकता गरेका कञ्चन पछुत्ताउनु पर्यो । उनले एकतामा जे भनेका र सोचेका थिए त्यो हुने सम्भावना नभपछि एकता भंग गरे । उनी आफैसंग भएको जनशक्ति पनि क्षयीकरण गरेर फर्किए ।

    प्रतिकृया दिनुहोस्