News Portal

  • नेपाल प्रहरीले गर्‍यो प्रारम्भिक नतिजा सार्वजनिक

    प्रारम्भिक अनुसन्धानले झुण्डिएको देखिन्छ, हत्या कि आत्महत्या ?

    दिनेश विकल्प२०८१ जेठ ७
    १५६ पटक

    जेष्ठ ७,बागलुङ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी १७ वर्षिय बालिका परिवर्तित नाम “बागलुङ ६ “(प्रहरीले दिएको नाम) को गत जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा भैरहेको अनुसन्धानको प्रारम्भिक नतिजा आज सार्वजनिक भएको छ । मृतक परिवार तथा अधिकारकर्मीहरुले निष्पक्ष छानविनको माग गर्दै आन्दोलन गरिरहेका बेला प्रहरीले अनुसन्धान र कारवाही प्रक्रियाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

    सोमबार जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाको छानविन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको जनाएको छ । धौलागिरी अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार “बागलुङ ६” को झुण्डिएर मृत्यु भएको पाईएको छ । ‘ह्याङ्गीङ भन्ने रिपोर्ट छ, भिसेरा रिपोर्ट आएको छैन भिसेरा रिपोर्ट नआउने बेलासम्म अझै केही भन्न सकिँदैन’ जिल्ला प्रहरी प्रमुख ऋषिराम कँडेलले भने ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै छ ।

    प्रहरीले बागलुङ ६ झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेको छ । बागलुङ ६ ले बाबुआमालाई सम्बोधन गर्दै क्षमा मागेको र आफुलाई मर्न बाध्य पार्नेहरुको नाम समेत उल्लेख गरेको कँडेलले बताए । प्रहरी स्रोतका अनुसार बागलुङ ६ ले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आँफु मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् । ‘बागलुङ ६ ले पढ्ने विद्यालयको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला पठाएका छौं’ उनले भने ‘नोटका आधारमा नाम उल्लेख भएका सबैको मोबाईल, चालचलन र व्यवहारको अनुसन्धान सुरु भैसकेको छ ।’
    मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको उनले बताए । प्रहरीले घटनाको छानविनमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ । घटनाको अनुसन्धान गर्न जिम्मेबारी दिएका प्रहरी अधिकृत माथी नै पीडित पक्ष असन्तुष्ट देखिएकाले अनुसन्धान अधिकृत परिवर्तन गरिएको कँडेलले बताए ।

    ‘तथ्य र प्रमाण जुटाईरहेको प्रहरी कोही कसैबाट प्रभावित हुन्न’ उनले भने ‘कानूनले तोकेभन्दा तलमाथी हामीले गर्नसक्ने कुरा भएन्, प्रमाण र तथ्यहरु जुटाएर अदालतसम्म पुग्ने हाम्रो काम हो, बाँकी अदालतले निर्णय गर्छ ।’ बागलुङ ६ को आत्महत्या नभई हत्या भएको भन्दै न्यायका लागि आन्दोलनमा रहेका महिलाहरुले जेठ दुई गते यता सडकमा नाराबाजी गरिरहेका छन् ।
    परिवार र सरोकारवालाले भिसेरा रिपोर्ट नआउने बेलासम्म शव बुझ्न मानेका छैनन् । मृतकको शव एक सातादेखि धौलागिरी अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्