News Portal

  • दिक्षा भण्डारीको शङ्कास्पद मृत्युलाई लिएर माइती पक्ष न्यायका लागि आन्दोलित

    दिनेश विकल्प२०८१ जेठ ४
    २०५ पटक

    बागलुङ, ४ जेठ । दिक्षा (दिलिसा) भण्डारीको शङ्कास्पद मृत्युलाई लिएर उनका माइती पक्ष, आफन्त र शुभचिन्तकहरू आन्दोलित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका १ खहरे घर भएकी भण्डारीको शङ्कास्पद मृत्युलाई लिएर उनको न्यायका लागि दबाब दिन भन्दै उनका माइती पक्षले आज बागलुङ बजारका मुल सडकमा आन्दोलन गरेका हुन्। बागलुङ नगरपालिका १० गलुवा माइत भएकी १८ वर्षीया दिलिसाको श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप लगाउँदै दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै आन्दोलन गरेका हुन्।

    मृतकका श्रीमान् १८ वर्षीया सुशान्त थापा र सासु ३६ वर्षीया उजेली थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

    मृतकका बुबा देवेन्द्रबहादुर भण्डारीले प्रहरीमा कर्तव्य ज्यान सम्बन्धि मुद्दामा जाहेरी दरखास्त दिएका छन् । जिल्ला अदालतले ४ दिनको म्याद दिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कँडेलले बताए।
    महिलाहरुले बागलुङको जिल्ला प्रशासन कार्यालय, धौलागिरि अस्पताल लगायत बागलुङ बजारको मुख्य मुख्य चोकहरुमा हत्यारालाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बजारमा विरोधका कार्यक्रम भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
    शव पोष्टमार्टमको लागि पोखरा लाने वा धवलागिरि अस्पतालमा गर्ने विषयमा परिवार पक्षबिच सहमति हुन नसकेपछि पोष्टमार्टममा ढिलाइ भएको हो ।
    शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मृत्यु शंकास्पद देखिएकोले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फोरेन्सिक मेडिसिन विज्ञ झिकाएर पोष्टमार्टम गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।
    भण्डारीको हत्या भएको दाबी गर्दै माइती पक्ष निरन्तर आन्दोलन गरिरहेका छन् भने शव धवलागिरि अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्