News Portal

  • समाजवादको नेपाली चरित्रबारे मन्थन : यस्तो भन्छन् विज्ञ र प्रमुख नेताहरू

    शेर बहादुर विश्वकर्मा२०८० चैत्र २१
    ४८ पटक

    चैत्र २१,काठमाडौँ । एक वर्षअघि नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको सन्दर्भ पारेर नेपाल कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई एउटै मञ्चमा उभ्याएपछि देखिने गरि शुरु भएको समाजवादी मोर्चा निर्माण प्रक्रियाले असार ४ गते पूर्ण आकार लिएको थियो । मोर्चामा सम्बद्ध ४ दलहरूको आपसी सहमति अनुसार चक्रिय प्रणाली अनुसार नेतृत्व गर्ने सहमति भएको थियो र सुरुवातमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चाको संयोजन गरेका थिए । पहिलो चरणमा सात ओटै प्रदेशमा मोर्चाले कार्यक्रम सम्पन्न गरेको थियो भने हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मोर्चाको नेतृत्व गरिरहेका छन् । समाजवादी मोर्चाले आफ्नो संरचना प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्नुका साथै समाजवादको नेपाली विशेषताबारे राष्ट्रिय सभागृह काठमाडौँमा चैत २० गते बृहत अन्तर्कृया गरेको छ ।समाजवादको नेपाली मोडेलबारे साझा बुझाइ निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न विज्ञ र प्रमुख नेताहरूले आ-आफ्ना धारणा राखेका छन् । यस्तो छ व्यक्त धारणाको सम्पादित अंश)

    *अन्ततः सडकबाट नै समाजवाद जन्मिने हो : प्रचण्ड, अध्यक्ष नेकपा (माओवादी) केन्द्र

    कार्यक्रममा व्यक्त हामी सबै वक्ताहरुको मन्तव्यको सार भनैकै सबै देशभक्त, वामपन्थी र कम्युनिस्टहरु एक हुनुपर्छ भन्ने नै हो । त्यसलाई दीर्घकालीन रूपमा सफल पार्न त्यही अनुसार कार्यनीति र रणनीति तय गर्न जरुरी छ । सुशासन, सामाजिक न्याय रआर्थिक समृद्धि नै समाजवादको आधार तयार पार्ने सुत्र हुन् । यो अघिल्लो गठबन्धनबाट संभव नभएपछि समीकरण फेरबदल गरिएको हो । यस विरुद्ध बिक्षिप्त शक्ति लागि नै रहेका छन् ।

    संविधानलाई प्रगतिशील दिशामा कार्यान्वयनमा लैजान पनि वामपन्थी कम्युनिस्ट एकता जरुरी छ । त्यसका लागि मैले केही जोखिम लिइएको हुँ । यो देश र जनताको हितमा नै हुन्छ भन्ने लागेर मैले त्यस्तो निर्णय लिएको हुँ । अन्ततः सडकबाट नै समाजवाद जन्मिने हो, जनता सडकमा नै छन् तर अर्को यथार्थ सदन र सरकारबाट समाजवादको आधार तयार पार्न सकिन्छ ।त्यो कुरालाई पनि हामीले भुल्नु हुँदैन । समाजवादी मोर्चाको संरचना सरकारदेखि संसद र सडकसम्मको शक्तिद्वारा बनेको छ, यो आफैमा मौलिक कुरा पनि हो ।

    * समाजवादी मोर्चा अर्थराजनीतिक संकट र अन्तरविरोध समाधानको उपज : विप्लव

    समाजवादी मोर्चा अब संगठनात्मक कामको क्षेत्रबाट राजनीतिक बहसमा प्रवेश गरेको छ । यो सकारात्मक उपलब्धि हो । समाजवादी मोर्चा अहिलेको अर्थराजनीतिक संकट र अन्तरविरोधको उपज हो ।यसको सन्दर्भ भुमण्डलीकृत साम्राज्यवादको नेपाल आयामसङ्ग पनि जोडिएको छ ।
    आजको विश्व मुलतः पुजीवादी विश्व हो । तथापि समाजवादी धारा पनि विकसित हुँदैछ । संघियताको सही कार्यान्वयन लगायत विभिन्न उत्पीडित जनता, क्षेत्रका मुद्दा, शिक्षा, स्वास्थ्य र किसान लगायत आधारभूत वर्गका समस्या समाधान अझै भएका छैनन् । जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै आजका समस्याहरुको आर्थिक, राजनीतिक निकासका लागि हामीलाई समाजवादी मोर्चा आवश्यक परेको हो । यसलाई देशको आवश्यकता र संभावनाको परिणाम हो पनि भन्न सकिन्छ ।

    अहिले एकथरी मानिसहरू निराशा मात्रै बाडिरहेका छन् । हाम्रो अगाडि केबल निराशा मात्रै होइन समाधानका संभावना पनि छन् । वित्तीय/दलाल पुजीपति वर्गको सानो हिस्साको हातमा देशको सारा सम्पत्ति केन्द्रीकरण भैरहेको छ । यी समस्याको समाधान व्यक्तिले मात्रै गर्न सकिन्न प्रणाली जरुरी हुन्छ । मन्त्री प्रधानमन्त्रीले चाहेको काम पनि हुन सकिरहेको छैन । यो कुराले प्रणालीगत रुपमा नै परिवर्तनको माग गर्छ । आज प्राप्त गणतन्त्र दलाल पुँजीपतिको हो वा जनताको गणतन्त्र हो भन्ने बहस र संघर्ष चलिरहेको छ । नेपाली समाज अहिले जति स्वतन्त्र कहिल्यै थिएन । मान्छे स्वतन्त्र रुपले सोच्न सक्ने ठाउँमा छन् अहिले । यो सकारात्मक कुरा हो । यसले समाजलाई अग्रगमनतिर लैजाने छ ।
    आजको विश्वले प्रजातन्त्रलाई बम बोकाइरहेको छ ।
    पहिलो विश्वयुद्धले रसियन समाजवाद दियो, दोस्रो विश्वयुद्धले चीनिया क्रान्ति दियो फेरि तेस्रो विश्व युद्ध हुन्छ भनेपनि यसले नयाँ समाजवादी विश्व दिनेछ, हामी आशावादी हुनैपर्छ, निराश हुने होइन ।

    * लोकतान्त्रिक मान्यतासहितको कार्यक्रम समाजवाद : माधव कुमार नेपाल, अध्यक्ष एकीकृत समाजवादी

    समाजवादको मुख्य विषय जनता हुन् । पश्चिम बङ्गालमा तीन दशक कम्युनिस्टहरुले सत्ता चलाएका थिए । तर अहिले कम्युनिस्टहरुको उपस्थिति वडामा पनि छैन । यसबाट सिक्ने मुख्य कुरा पार्टीले जनतालाई केन्द्रमा राख्नुपर्छ । जनतालाई भुल्न हुँदैन भन्ने नै हो ।

    हामी सडकमा जानु अघि बस्तीमा जानुपर्छ । टोलटोलमा जानुपर्छ । सबभन्दा पहिले विचार र सिद्धान्त ठिक हुनुपर्छ, त्यसको आधारमा जनताको चेतना जगाउनु पर्छ । त्यसपछि जनतालाई त्यस आधारमा आन्दोलित गर्नुपर्छ । त्यसपछि चुनावमा जितेर कार्यक्रम लागू गर्नुपर्छ । यसो गरेर नै हामीले समाजवादको दिशामा अघि जानुपर्छ र आधार तयार पार्न सकिन्छ ।

    हाम्रो आफ्नो आधार, भू-राजनीतिक, अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको आधारमा हाम्रो कार्यक्रम लागु गर्नुपर्ने हुन्छ । समाजवादको सुरुवातमा शिक्षा क्षेत्रबाट राम्रो गर्नुपर्छ । चुनाव प्रणाली लगाएतका कतिपय कुरा सुधार जरुरी छ ।
    समाजवादले जनतालाई केन्द्रमा राख्छ भने पुजीवादले मुनाफालाई केन्द्रमा राख्छ । लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादी कार्यक्रम नै नेपाली विशेषताको समाजवाद हो ।


    * सडक र सदन दुबै संघर्षलाई जोड्नुपर्छ : झलनाथ खनाल

    हामीले ५८ वर्ष लगाएर नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूरा गर्‍यौं । यद्यपि हामीले सोचे जसरी नै त्यो अगाडि बढेन ।
    हामीले दुई तिहाइ वरिपरि जनमत प्राप्त गरेका थियौँ ।त्यो बेला समाजवाद उन्मुख कैयौं कार्यक्रम लागू गर्न सकिन्थ्यो तर त्यो सकिएन, त्यहाँ हाम्रा कमजोरी रहे ।अब यसबाट सिक्न सकिन्छ र अगाडि बढ्न जरुरी छ ।

    हामी अहिले समाजवादी क्रान्ति र विकासको प्रक्रियाबाट जादैछौँ । यसका नियमहरुको आधारमा जान सक्यौं, सिर्जनात्मक रुपमा जान सक्यौँ भने मार्क्सवादका आधारमा अगाडि बढ्यौं भने त्यो नै नेपाली विशेषताको समाजवाद हो ।
    पछिल्लो समीकरण जुन बनेको छ, वामपन्थीहरुबीच जुन एकता र सहकार्यको स्थिति बनेको छ, त्यसले निकै राम्रो प्रभाव पारेको छ ।

    नेपाली विशेषताको समाजवादमा कृषिको रुपान्तरण कसरी गर्छौँ, देशको औद्योगिकीकरण कसरी गर्छौँ त्यसबारे अभियान सञ्चालन गरेर राष्ट्रिय पुजीको विकास गर्नुपर्छ । बैंकहरुलाई राष्ट्रिय औद्योगिकीकरणमा योगदान गर्ने बनाउन जरुरी छ ।शिक्षामा व्यापक परिवर्तन जरुरी छ । शिक्षाको व्यापारवाद रोक्नुपर्छ । स्वास्थ्यमा पनि यसरी नै अगाडि बढ्नुपर्छ । उद्योग र कृषि दुबै क्षेत्रमा राज्यको भूमिका वा राजकीय पुजीको विकासविना देशमा समाजवाद आउन सक्तैन । हामी आयातीत अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ जानुपर्छ र यसले मात्रै समाजवादको आधार तयार पार्छ ।

    कुनैपनि वामपन्थीहरु एकअर्काका शत्रु होइनन् तर विगतमा हाम्राबीचमा शत्रुवत व्यवहार र विश्लेषण हुने गरेका छन् । पछिल्लो समयमा वामपन्थीहरु नजिकिने जुन वातावरण बन्दै छ, यो खुशीको कुरा हो । हामीले सडक र सदन दुबैलाई जोड्नुपर्छ । सडक मुख्य हो ।किनकि जनता सडकमा छन् यसबाट नेपाली विशेषताको वर्गसंघर्ष विकास गरेर जान सकिन्छ । अहिलेको सहकार्यलाई राजनीतिक कार्यक्रम, विचार र संगठनमा बदलौँ ।

    *समाजवाद सबैले लगाउने टोपी : दिपेन्द्र बहादुर क्षेत्री, पूर्वउपाध्यक्ष राष्ट्रिय योजना आयोग

    अहिले समाजवाद सबैले भन्न थालेका छन् । यो सबैले लगाउन मिल्ने टोपी जस्तो भएको छ । समाजवाद निजी स्वामित्वमा रहेको साधन र स्रोतको विपरीत व्यवस्था हो । समाजवाद स्वतस्फूर्त रूपमा आउदैन, त्यो प्राप्तिका लागि अभियान चाहिन्छ । चीनले चीनिया विशेषताको समाजवाद भन्ने गरेको छ । उत्पादन र उत्पादन सम्बन्ध समाजवादको महत्त्वपूर्ण कडी हो ।

    * सहकारी नै यति धेरै बदनाम : डा. महेश मास्के, पूर्व राजदुत

    समाजवाद के हो र यो कसरी हासिल गर्न सकिन्छ भन्ने कुरा आजको छलफलको मुख्य विषय हो । समाजवाद शब्दको मुख्य प्रयोगकर्ता रोवर्ट ओवेन थिए । उनी सहकारी अभियन्ता पनि थिए । यसमार्फत समाजवादमा जान सकिन्छ भन्ने उनको विश्वास थियो । सहकारी विना समाजवाद आएको कतै छैन तर नेपालमा यति धेरै सहकारी छन्, वामपन्थी/ कम्युनिस्टहरुको सत्ता पनि छ तर सहकारी नै अहिले किन यति धेरै बदनाम? भुमिसुधार जस्तो नितान्त पुँजीवादी कार्यक्रम समेत अहिलेसम्म किन कार्यान्वयन हुन सकेन? भुपरिवेष्ठित मात्रै होइन भारत वेष्ठित हाम्रो अर्थतन्त्र अझै किन तोड्न सकिएन ? यी हामीले बारम्बार पढिरहेका कखरा हुन् ? अहिले चाइना र अमेरिका बिच शीतयुद्द चलिरहेको छ । यो उष्ण युद्दमा बदलिने खतरा छ । यस्तो परिस्थितिमा महाशक्तिहरु हाम्रोमा खेल्ने खतरा छ । समाजवादी मोर्चाले यो संवेदनशीलतालाई बुझेर कदम चाल्न जरुरी छ ।

    *दलहरुको रुपान्तरण आवश्यक : सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता

    नेपाली विशेषताको समाजवाद भन्नु अघि नेपाली समाज के हो ? यसको विशेषता के हो ? त्यो बुझ्न जरुरी छ । नेपालमा खस आर्यहरु, राई,मधेसी, थारु, नेवार, मगर जस्ता विशेषता छ भन्ने कुरालाई विचार गर्नु पर्‍यो । त्यो पिछडिएको समाजको उत्थान गर्ने कुरा आजको समाजवाद हो । नेपाली समाजवादमा पहिचानमा आधारित संघियता अनिवार्य छ तर अहिले खर्चको समस्या देखाउदै सङ्घियता हटाउने तर्क गरिदै छ । नेपाली विशेषताको समाजवादका लागि व्यवस्था र संविधान होइन दलहरुको रुपान्तरण आवश्यक छ ।
    * प्रत्यावानको व्यवस्था भएन: एकराज भण्डारी, वरिष्ठ अधिवक्ता
    संविधानमा थुप्रै मौलिकअधिकार र विभिन्न जाती, क्षेत्र र समुदायको हितका लागि नीतिनिर्देशक सिद्धान्तको व्यवस्था गरिएको छ । अर्थप्रणाली समाजवाद उन्मुख भनिएको छ । संविधान पढ्दा सबै राम्रा कुराहरू छन् तर लागू हुँदैनन किन?

    समाजवादी व्यवस्थामा जाने हो भने यो मोर्चा सडक संघर्षमा पनि जानुपर्छ । अहिले देशमा कोहि कानुन नमान्ने निकाय छ भने त्यो संसद हो, सरकार हो, संवैधानिक निकाय हो । संविधान निर्माण गर्नेबेला गलत गर्नेहरू विरुद्ध प्रत्यावान गर्ने प्रस्ताव गरिएको थियो, पछि त्यो हटाइयो । अब गल्ती गर्नेहरुलाई नागरिकले घिसार्ने छन् । यो उनीहरुको अधिकार हो । अदालतप्रति नागरिकको विश्वास खस्केको छ, यसको मुख्य कारण न्यायाधीशको नियुक्ति प्रक्रियासङ्ग जोडिएको छ । जसले नियुक्ति गर्छ उसैको नुनको सोझो हुने अवस्था आयो ।

    *संविधान नै समाजवादको कार्यान्वयनको बाधक : उपेन्द्र यादव, अध्यक्ष जनता समाजवादी पार्टी नेपाल

    समाजवादको नेपाली विशेषता भनेको के हो भने यो कसैबाट पनि नक्कल गर्न सकिन्न । अहिलेको संविधान अनुसारको नेपालको व्यवस्था उदार लोकतन्त्र हो तर यसबाट समाजवाद होइन विकृत पुँजीवादमा पुगिन्छ ।हाम्रो समाज वर्ग आधारित मात्रै होइन कास्ट आधारित पनि छ । कास्टवेशिस डिस्क्रीमिनेशन छ यहाँ । जुन वर्णव्यवस्था अनुसार चल्दै आएको छ । यो अवस्थाको अन्त्य नगरिकन समाजवादमा जान सकिन्न । विभेदको अन्त्य, आर्थिक विकास र सुशासन यी तीन चिज महत्त्वपूर्ण छन् । संविधानमा समाजवाद उन्मुख भनिएपनि यो संविधान नै समाजवादको कार्यान्वयनको बाधक छ । शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्छ । त्यसैको अलमलमा हामी छौं । त्यो अलमलले समाजवाद आउन सक्तैन । देशमा प्रचुर साधन, श्रोत र संभावना छन् । आर्थिक विकासमा सामाजिक न्याय र समानताविना समाजवाद हुन सक्तैन ।

    जसरी अहिलेको राजनीतिक व्यवस्था र संवैधानिक व्यवस्था बाधक छ समाजवादका लागि, त्यसरी नै भ्रष्टाचार पनि एउटा बाधा हो । आत्मनिर्भर आर्थतन्त्रको विकास विना समाजवादमा जान सकिन्न । अहिलेको स्थितिमा पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त हो तर हामी विकृत पुँजीवादी लोकतन्त्रमा गइरहेका छौं । उदारीकरण, नीजीकरण र भुमण्डलीकरणको दुस्प्रभावबाट हामी कसरी बच्ने भन्ने कुरा आजका समाजवादीहरुले सोच्नुपर्छ ।

    * निजी चाहनाले मात्रै हुन्न : डा खगेन्द्र प्रसाईं, दर्शनशास्त्री

    नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने हो भने आजको युगलाई भुमण्डलीकृत समाजवाद मान्नुहुन्छ र विश्व पुँजीवादमा अझै संकट आएको छैन भन्ने मान्ने हो भने नेपालमा मात्रै समाजवाद छुट्टै हुन सक्छ कि सक्दैन ? यो बहसको विषय हो । यदि हामी समाजवादमा जाने हो भने आजको पुँजीवाद बुझ्नपर्छ र नेपालको अर्थराजनीति चरित्र बुझ्न पर्छ । नेपालको अहिलको पुँजीवाद दलाल पुँजीवाद भन्दा वित्त पुँजीवाद हो भन्नुपर्छ । वित्त पुँजीवाद अन्तर्गत दलाल पुँजीवाद हुन्छ । यो हिजो लेनिनले भने जस्तो पुँजीवाद पनि होइन । आजको समाजवाद हामी कसैको निजी चाहनाले मात्रै आउने हो कि त्यस्तो कुनै वर्ग पनि छ, जसले मुख्य भुमिका पूरा गर्न सक्छ । वर्ग नबुझी समाजवादको यात्रामा जान सकिन्न ।

    *स्थापित मान्यताहरुलाई चुनौती दिनुहोस् : प्रा डा दिनेशराज भुजु

    हाम्रा युवाहरू बाहिरिएका छन् । ती पनि सङ्सारका सबै देशमा होइन, अमेरिका लगायत केही सिमित देशमा । सबै देशमा मानिसहरू किन जादैनन ? किन नेपालीहरु अफ्रिकी पीछडिएका देशमा किन जादैनन् । यसको मुख्य कारण विज्ञान प्राविधिमा जुन देशहरुको लगानी धेरै छ त्यसले युवाहरूलाई तान्ने भएर त्यसो हुन गएको हो ।विज्ञान र प्रविधिमा गरिएको लगानीले देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

    ज्ञान प्राप्त गर्ने दुई तरिका छन् । एउटा ज्ञानको उत्पादन प्रयोगशालाबाट हुन्छ भन्ने मान्यता र अर्को दिमागी अध्ययनबाट ज्ञान प्राप्त हुन्छ भन्ने कुरा । युवाहरूलाई मेरो अनुरोध छ अब स्थापित मान्यताहरुलाई चुनौती दिनुहोस् । विज्ञानको आधारमा अनि मात्र युवाहरु समाजवादको दिशामा अघि जान सक्नुहुन्छ ।

    *अर्थव्यवस्था विचौलियातन्त्रमा आधारित छ : दिपेन्द्र झा, वरिष्ठ अधिवक्ता

    शिक्षामा समानताले समाजवादतिर जान सकिन्छ । हामी अहिले त्यस्तो समयमा समाजवादको बहस गरिरहेका छौं जहाँ बिहान उठ्नेबित्तिकै आमसञ्चारमा युक्रेनमा नेपाली युवाहरू मारिएको समाचार पढ्छौँ । यो के कारणले हुँदैछ? यसको मुख्य कारण हाम्रो देशको आफ्नो उत्पादन भएन । यहाँको अर्थव्यवस्था विचौलियामा आधारित छ । त्यसैले
    सरकारले बिक्री गरेका र रुग्ण भएका उद्योग सञ्चालनमा ल्याउनु होस् । भूमि सम्बन्धि कानुनमा सुधार गरेर वैज्ञानिक प्रयोगको बाटो खोलौँ । एउटै व्यक्तिले कृषि, उद्योग, बैंक, शिक्षा र स्वास्थ्य लगायत अर्थतन्त्रका सबै क्षेत्रमा नियन्त्रण कायम गर्ने स्थितिको अन्त्य गरिनुपर्छ । यसो गरेर मात्रै समाजवादको आधार तयार हुन्छ ।

    *देशको प्रमुख अन्तरविरोध सामन्तवाद : मनोज भट्ट, महासचिव राष्ट्रिय जनमोर्चा नेपाल

    समाजवाद धेरै प्यारो शब्द हो । हिटलरले पनि समाजवादको नारा दिएका थिए । महेन्द्रले पनि शोषणरहित व्यवस्थाको कुरा गरेका थिए । तर त्यहाँ समाजवाद आएन । अहिले प्रतिगमनको खतरा छ । यसका लागि देशीविदेशी शक्तिहरुले मोर्चा कसेका छन् ।यसविरुद्ध समाजवादी मोर्चाले काम गर्ने कुरा देशका लागि सकारात्मक छ । भू-राजनीतिक चुनौती र राष्ट्रिय स्वाधीनता गम्भीर ठाँउमा छ । यस दिशामा मोर्चाले भुमिका खेल्ने हो भने यो सकारात्मक कदम हुनेछ ।अहिले पनि देशको प्रमुख अन्तरविरोध सामन्तवाद हो ।

    *समाजवादको कार्यक्रमबारे विमर्श जरुरी : राजन भट्टराई, एमाले अन्तर्राष्ट्रिय विभाग प्रमुख

    समाजवाद दुईखाले छ । पहिलो मार्क्सवादी अवधारणामा आधारित भएर अगाडि बढ्ने कुरा हो भने अर्कोतिर सामाजिक जनवादको रूपमा आएको अर्को अवधारणा पनि छ । कुनै बेला यी दुई अवधारणाहरु निकै बहस र विवादका विषय रहे । समाजवादको व्याख्या र कार्यान्वयनमा अन्तरहरु देखिएका छन् । हाम्रो उत्पादन सम्बन्ध, उत्पादनको चरित्र कुन स्थितिमा छ भन्ने कुराका आधारमा नेपालमा समाजवादको प्रारम्भ कहाँबाट, कसरी गर्ने भन्ने विषयमा बृहत बहस जरुरी छ । यसरी बहसको सुरुवात हुनु राम्रो कुरा हो ।

    समाजवादउन्मुख हुनका लागि अहिलेको राजनीतिक कार्यक्रम के हुने भन्नेबारे बहस आवश्यक छ । अरुले प्रयोग गरेका समाजवादका प्रयोगहरुको पनि सकारात्मक अनुभवबाट हामीले सिक्न सक्नुपर्छ । हाम्रो धरातलीय यथार्थ, विश्वव्यापी परिस्थिति र नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवबाट हाम्रो समाजवादको बाटो तय हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस्