News Portal

  • सहिद परिवारले विप्लवलाई भने,-अन्तिमसम्म हामी साथ दिन्छौं

    शेर बहादुर विश्वकर्मा २०८० चैत्र १९
    ८६ पटक

    चैत्र १९,काठमाडौँ । तत्कालीन ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई २०७५ चैत २८ गते प्रतिबन्ध लगाएपछि राज्यद्वारा मारिएका सहिदहरुका आफन्तहरूले महासचिव विप्लवलाई अन्तिम विजयसम्म क्रान्तिको नेतृत्व गर्न सुझाव दिएका छन् ।

    शुक्रबार कमलादीस्थित प्रज्ञाभवनमा आयोजित सहिद -गाथा `राष्ट्रको लागि बलिदान´ लोकार्पण तथा सहिद परिवार सम्मान कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनीहरुले महासचिव विप्लवलाई त्यस्तो सुझाव दिएका हुन् ।

    एकीकृत जनक्रान्तिको क्रममा सहादत प्राप्त गर्ने १५ सहिदहरुको जीवनीमा आधारित गाथाको विमोचन कार्यक्रममा सहिदहरुका सपना र आदर्शलाई साकार पार्न, नेपालको अधुरो क्रान्ति पूरा गर्न र समाजवादी व्यवस्था स्थापना गर्न महासचिव विप्लवले अन्तिम विजयसम्म क्रान्तिको नेतृत्व गर्नुपर्ने र आफुहरु निरन्तर साथ दिन तयार रहेको उनीहरुको भनाइ थियो ।

    कार्यक्रममा सहिद परिवार समाज नेपालकी अध्यक्ष खुमा सुवेदीले सहिदको रगत र उनीहरुका परिवारका आशुलाई उर्जामा बदलेर नै सहिदका सपना पूरा गर्न सकिने उल्लेख गर्दै सहिद परिवारले आफ्ना अभिभावक मात्रै खोजेका छैनन् उनीहरुको बलिदान र रगतको मूल्य खोजिरहेको बताइन् ।

    सहिद प्रज्वल शाहीकी बहिनी कलशाले सहिदहरु नै क्रान्ति र परिवर्तनका मार्गदर्शक भएको र लखन थापा, गङ्गालाल श्रेष्ठदेखि एकीकृत जनक्रान्तिका सहिदको बलिदानले अहिलेको पुस्ताले स्वतन्त्रता प्राप्त गरेकोले यसलाई अगाडि बढ्ने उर्जाको रूपमा लिनुपर्ने धारणा राखेकी थिइन् ।

    त्यस्तै निरकुमारकी जीवनसाथी/ सहिदपत्नी इन्द्रकला राईलेपार्टी, पार्टीका नेताकार्यकर्ताले सहिदको बलिदान किन भयो, कसरी भयो भन्ने कुराको महत्त्वबोध गर्दै निरन्तर लक्ष्यमा लाग्नु पर्ने र आफुहरु देश र नागरिकको हितमा काम गर्नेहरुलाई साथ दिन तयार रहेको बताएकी थिइन् ।

    बेपत्ता याेद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सहिद गाथामा आधारित बलिदान नामक पुस्तकका अधिकाङ्श सामग्रीमा सहिद महान छन्, उनीहरुको सपना पूरा गर्नेछौं, त्यसका लागि क्रान्तिको बाटोमा निरन्तर अघि बढ्छौँ भन्ने साझा निष्कर्ष रहेको बताए । मन्तव्यको क्रममा बरिस्ठ अधिवक्ता समेत रहेका भण्डारीले सहिद तथा बेपत्ता परिवारले नयाँ उर्जा र प्रतिबद्धताका साथ उनीहरुको सपना पूरा गर्ने अभियानमा योगदान पुर्‍याउनुपर्ने विचार राखे ।

    सम्मान कार्यक्रममा घाइते योद्धा सुरेन्द्र महर्जनले आफ्नो अनुभूति व्यक्त गर्दै क्रान्ति जहिल्यै सोझो रेखामा होइन, दायाँबायाँ र बक्र रेखामा अगाडि बढ्छ, यो स्वभाविक छ, हामी क्रान्तिको निरन्तर यात्रामा छौं, समय र परिस्थिति अनुसार विभिन्न परिवर्तनकारी शक्तिलाई एकताबद्ध गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गरेर नै घाइतेहरुको सम्मान र सहिद तथा बेपत्ताहरुको सपना साकार हुने बताए ।

    प्रतिकृया दिनुहोस्