News Portal

  • कोशी र मधेशमा पानी पर्‍यो, काठमाडौंमा पनि सम्भावना

    यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जनगर्जन संवाददाता२०८० चैत्र ७
    २७ पटक

    ७ चैत,काठमाडौं । अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए । एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए ।

    मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ ।

    कोशी प्रदेशको राजधानी विराटनगरमा धुलोमार्ने खालको मात्र पानी परेको छ ।

    मौसमविद झाका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उनले भने ।

    गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ ।

    यस्तो अवस्था भोलिसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ । भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद झाले बताए

    प्रतिकृया दिनुहोस्