News Portal

  • विप्लव नेकपाको सामूहिक उत्पादन, सडकदेखि सदनसम्मको चर्चा

    जनगर्जन संवाददाता२०८० चैत्र ४
    ६२ पटक

    कृष्णजङ्ग रेउले
    दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशभर सामूहिक उत्पादन प्रणालीमा जोडिएको छ । पार्टीको उत्पानदन नीति अनुसार आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर अर्थतन्त्र र आत्मनिर्भर देश बनाउने उद्देश्यसहित पार्टी सामूहिक उत्पादनमा प्रणालीमा जोडिएको हो ।

    पार्टी सामूहिक उत्पादनमा जोडिएसँगै पार्टीका आम नेताकार्यकर्ताहरु मौसमी तथा बेमैसमी खेती प्रणालीमा जोडिएका छन् । पार्टीका नेताकार्यकताहरु राजनीतिक कार्यक्रमदेखि लिएर आफ्नो श्रमलाई उत्पादन कार्यसम्म जोडेका छन् । पार्टी उत्पादन कार्यमा जोडिएदेखि नै यस विषयमा थुप्रै टिकाटिप्पणी र बहस सुरु भएका थिए । उत्पादनको विषयलाई लिएर विस्तारै सडकदेखि सदनसम्म चर्चामात्र चलेन प्रंशसा समेत भएको थियो । राजनीतिक दलका नेताकार्यकताहरु झोला बोकेर कार्यक्रममा जाने र भाषण मात्र गर्छन् भन्नेहरुका लागि यो गतिलो उदाहरण बनेको छ ।

    पार्टीको केन्द्रीय नीति अनुसार उत्पादनमा जोडिनुपर्ने भएकोले पार्टी पूर्वी दाङ पनि सामूहिक उत्पादनमा जोडिएको छ । पार्टी पूर्वी दाङले सी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर घोराही–१६ गुरुवा गाउँमा रहेको साढे तीन विघा जग्गामा व्यवसायिक रुपमा आलु खेती गरेको पार्टी पूर्वी दाङका सेक्रटरी जनक सीले बताए । गतवर्ष गुरुवा गाउँमा रहेको जयशेयर मा.वि. रावत गाउँको ६ विघा क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर सामूहिक उत्पादन कार्यलाई अगाडि बढाएको सेक्रेटरी जनक सीको भनाइ छ । यसअघि नै धान, मकै र तोरीको उत्पादनलाई भित्र्याइसकेको समेत उनले जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले पार्टीको नवौं महाधिवेशनबाट लिएको उत्पादन नीतिलाई कार्यन्वयनको प्रक्रियामा अगाडि बढेको बताइन् । उनले विद्यालयको जग्गा भाडामा लिएर मकै, धान र तोरी उत्पादन गरिसकेको र अहिले आलु खेती गरिरहेको समेत बताइन् । यस खेती प्रणालीलाई निरन्तरता दिँदै नेताकार्यकर्ताहरुलाई गरिखाने संस्कार सिकाउने र सिंगो देशमा भविष्य नदेखेर निशारा बोकेर विदेश पलायन हुने संस्कार बढेको हुँदा त्यसलाई अन्त्य गर्नका लागि उत्पादन महत्वपूर्ण भएको भन्दै पार्टी उत्पादनमा जोडिएको उनको भनाइ छ । कृषि खेतीमा जोडिनका लागि पार्टीले असारको महिनामा २० दिन छुट्टी दिने निर्णय गरेको र त्यही निर्णयलाई मध्यनजर गर्दै देशभरका नेताकार्याकर्ताहरु भौगोलिक अवस्था अनुसार फरक–फरक खेती गर्दै आइरेको समेत नेता सम्झनाको जोड थियो ।

    नेता सम्झनाक सीका अनुसार आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर पार्टी बनाउने उद्देश्यकासाथ औपचारिक रुपमा नै सुरु गरिएको धान खेतीदेखि लिएर हालसम्म आउँदा पार्टीका नेताकार्यकर्ता नै श्रममा खटिएको छन् । पार्टी पूर्वी दाङले यो वर्ष १ सय ५० क्विइन्टल धान उत्पादन गरेको उनले जानकारी दिइन् ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सविन सीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर देश र आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्यकासाथ पार्टीले दाङसहित देशभर उत्पादन सुरु गरेको बताए । पार्टीले गत साउन महिनामा देशभर करिब ३ बिघा क्षेत्रफलमा उत्पादन कार्यलाई अगाडि बढाएको भन्दै राप्ती ब्यूरोमा १५ बिघा बढी जग्गामा धान, मकै र दालजन्य वस्तुको उत्पादन सुरु गरेको उनले बताए । पार्टीको नवौं महाधिवेशनबाट आर्थिक तथा उत्पादन नीति पारित गर्दै पार्टीका प्रत्येक नेताकार्यकर्ता उत्पादन कार्यमा जोडिएको उनले जानकारी दिए । देशमा भएका बाँझो जमिनमा खनजोत गरेर सुन फलाउने योजनासहित पार्टी सामूहिक उत्पादन प्रणालीमा जोडिएको नेता सविनको भनाइ छ ।

    राप्ती ब्यूरोका सबै जिल्लाहरुमा भौगाेलिक बनावट र वस्तुस्थितिको अवलोकन तथा अध्ययन गरी आवश्यकता अनुसारका धान, महै, आलु, तोरी, फलफूलहरुको उत्पादनलाई जोड दिएको इञ्चार्ज सविनले बताए । नेता सविनका अनुसार दाङ जिल्लामा यो वर्ष दुईसय क्विइन्टल धान उत्पादन भएको छ, भने सल्यानमा २४ क्विइन्टल धान उत्पादन भएको छ । त्यस्तै रोल्पामा बहुवर्षिय फलफूलहरु रोपिएको छ । अहिले दाङ, प्यूठान र रोल्पामा आलुखेती गरिएको छ ।

    यस्तो छ, उत्पादनको वितरण प्रणाली:

    पार्टीले उत्पादन भएको वस्तुलाई तीनवटा आधारमा वितरण प्रणालीलाई व्यवस्थित बनाएको पार्टीका राप्ती ब्यूरो इञ्चार्ज सविनले बताए । जसमा उत्पादित भएको वस्तुलाई श्रम र लगानीको आधारमा, आवश्यकताको आधारमा र पार्टी कमिटी सञ्चालनको आधारमा वितरण गरिने गरेको उनको जोड थियो ।

    प्रतिकृया दिनुहोस्