News Portal

  • जनयुद्धको २८औं दिवसको सङ्‌घारमा छौं । नेत्र बिक्रम चन्द (विप्लव सी)

    जनगर्जन संवाददाता२०८० माघ २८
    २५ पटक
    २०८० माघ २८

    महासचिव  कमरेड, जनयुद्धको २८औं दिवसको सङ्‌घारमा छौं । जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? 

    गौरव, पीडा र नयाँ उत्थानका रुपमा जनयुद्धलाई स्मरण गरिरहेका छौं । गौरव यसर्थ कि महान् जनयुद्ध नेपालको अद्वितीय मुक्तियुद्ध हो । यसले देशभित्रको सामन्ती तथा दलाल पुँजीवादी सत्ता विरुद्धसाथै देशबाहिर साम्राज्यवादी हस्तक्षेपका विरुद्ध विद्रोहको प्रतिनिधित्व ग¥यो । असंख्य बलिदानका बिचबाट नेपालको ८०प्रतिशत भूभागमा विजय हासिल ग¥यो । त्यसैको बलमा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । पीडा यसर्थमा कि महान् जनयुद्धलाई सफलताको शिखरमा पु¥याउन नसक्दा माओवादी आन्दोलनमा भयानक विचलन र विघटन आयो । यसले गर्दा जनयुद्धमा त्याग, बलिदान र सहयोग गर्ने आम जनतामा भयानक असन्तोष, निराशा एवं विचलन देखाप¥यो । एकथरीले असफलताको फाइदा उठाउँदै जनयुद्धलाई आपराधिक घटना र जनयुद्धकर्ताहरूलाई अपराधी बनाउने षड्यन्त्र गरिरहेका छन् । नवउत्थान यसकारणले कि नेपाली जनतामा पुनः परिवर्तनतिरको आशा पैदा भएको छ । यसको समाधान अग्रगामी राज्य व्यवस्था अर्थात् नेपाली विशेषताको समाजवाद हुन सक्छ भन्ने आशा बढेर गएको छ । समाजवादी गणतन्त्रको पक्षमा परिस्थिति बन्दैगर्दा सचेत नागरिकहरूमा नयाँ आशा पैदा भएको छ । यसले क्रान्तिकारी आन्दोलनको पुनःउत्थान हुन्छ भन्ने विश्वास पैदा भएको छ ।

    जनयुद्ध दिवसको अवसरमा छरिएर रहेका नेता–कार्यकर्ता, सहिद र बेपत्ता परिवार, घाइते योद्धाहरूलाई केही भन्न चाहनुहुन्छ कि ?
    नयाँ आशा र जिम्मेवारीका साथ एकताबद्ध हुने समय आएको छ । हाम्रै त्याग, बलिदान र विश्वासले गणतन्त्रसम्म पुगेका छौं । तर सत्ता दलाल पुँजीपति वर्गको कब्जामा पुगेको छ । उनीहरू पूर्णरुपले असफल भएका छन् । निकासको निर्विकल्प बाटो नेपाली विशेषताको समाजवाद– वैज्ञानिक समाजवाद हो भन्ने सावित भएको छ । देशलाई समाजवादमा रुपान्तरण गर्ने जिम्मा हाम्रो हो ।

    जनयुद्धलाई  विद्रुपीकरण गर्ने धन्दा चलिरहेको छ, त्यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ?
    यो अयोग्य र अनैतिकहरूको चित्कार हो । जनयुद्धको धक्काले बन्द ढोका नतोडिदिएको भए ती तत्वहरू सामन्तवाद र दलाल पुँजीवादको अध्यारो गुफाभित्र कैद भइरहेका हुन्थे । केहीले जनताको रगत–पसिना चुसिरहेका हुन्थे । जनयुद्धबाट हारेकाहरू प्रतिशोधको मनस्थितिमा छन्, असफलहरू कुण्ठामा छन् । जति नै बल र षड्यन्त्र गरे पनि जनयुद्ध नेपाली राजनीतिक इतिहासको अमिट घटना बनिसकेको छ । केही समय सुस्ताएको भए पनि एकीकृत जनक्रान्तिका रुपमा यो अगाडि बढिरहेको छ ।

    जनयुद्धका उपलब्धिहरू के के हुन् ? जनयुद्धले गर्न नसकेको के के हो त ?
    सामन्तवादको अन्त्य, दलाल पुँजीवादमाथिको प्रहार, गणतन्त्रको स्थापना यसको मुख्य उपलब्धि हो । यसका बाँकी कार्यभार मुख्यतः देशलाई पूर्णरुपले स्वाधीन र समाजवादी गणतन्त्रको स्थापना गर्नु हो  । यसभित्र धेरै विषयहरू छन् । जस्तो कि किसानलाई जमिन, मजदुरलाई उचित तलब, युवालाई रोजगारी, विद्यार्थीलाई वैज्ञानिक शिक्षा, बिरामीलाई उपचार, वैज्ञानिकलाई प्रयोगशालाको, महिलालाई सुरक्षासहितको समान अधिकार, श्रमिक समुदायलाई सुरक्षासहितको विशेष सुविधा, जनजातिलाई संघीयतासहितको सत्तामा समान सहभागिता, कर्णाली, सेती, महाकालीलाई विशेष सुविधा, कर्मचारी एवं सेना प्रहरीमा निष्पक्ष जिम्मेवारी प्रदान, उद्योगीहरूलाई सुरक्षासहितको प्रोत्साहन, मध्यम वर्गलाई सुरक्षा र सहयोग जस्ता यावत कुराहरू गर्न बाँकी छन् ।
    जनयुद्ध ‘दीर्घकालीन जनयुद्ध’ कार्यदिशाले लडिएको थियो ।

    तपाईहरू ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा भनिरहनु भएको छ ।  के यो जनयुद्धको निषेध हो ?
    जनयुद्ध बिसौं शताब्दीको श्रमिक जनताको क्रान्तिको कार्यदिशा हो । एकीकृत जनक्रान्ति २१औं शताब्दीको क्रान्तिको कार्यदिशा हो । जनयुद्धले मुख्यतः अर्धसामन्ती, अर्धऔपनिवेशिक उत्पीडन र सत्तालाई समाधान गरेको थियो । एकीकृत जनक्रान्तिले भूमण्डलीकृत पुँजीवाद र उसबाट संरक्षित एवं सञ्चालित दलाल पुँजीवादलाई समाधान गर्छ । जनयुद्धले किसान, मजदुर, राष्ट्रिय पुँजीपति वर्ग र सत्ताबिचको अन्तरविरोधलाई समाधान ग¥यो । एकीकृत जनक्रान्तिले मजदुर, किसान, मध्यमवर्ग, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त र दलाल पुँजीवादी सत्ताबिचको अन्तरविरोध समाधान गर्छ । जनयुद्ध तीन चरणबाट पुरा हुन्थ्यो; एकीकृत जनक्रान्ति सहर र गाउँ, जनबल र पार्टीबलको एकीकृत प्रयोगबाट सफल हुन्छ । जनयुद्धले जनवादी गणतन्त्र स्थापना गरेको थियो; एकीकृत जनक्रान्तिले समाजवादी गणतन्त्र स्थापना गर्छ । जनयुद्ध बिसौं शताब्दीको समग्र युद्ध थियो; एकीकृत जनक्रान्ति २१औं शताब्दीको समग्र क्रान्ति हो । यसले कुनै पनि राजनीतिक मोर्चालाई गुम्न दिंदैन ।

    महासचिव कमरेड, नयाँ कार्यदिशा (एकीकृत जनक्रान्ति) किन आवश्यक प¥यो ?
    विश्व र नेपालको नयाँ राजनीतिक परिस्थिति साथै नयाँ परिस्थितिको सही पहिचान र समाधानको आवश्यकताले एकीकृत जनक्रान्तिको जन्म दिएका हुन् । जस्तो कि विश्व बिसौं शताब्दीको जस्तो साम्राज्यवादी चरित्रमा मात्र छैन, नेपालको राज्यसत्ता पनि विगतको सामन्तवादी खालको छैन । विश्व भूमण्डलीकृत पुँजीवादको हैकमभित्र छ भने नेपाल दलाल पुँजीवादको शासनमा छ । विश्व र नेपालका यी विशेषता बिसौं शताब्दीका जस्ता छैनन् । तर भूमण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादले विश्व र नेपालमा विभेद, असमानता र विध्वंसबाहेक केही दिएका छ्रैनन् । यसको समाधान आज पनि वैज्ञानिक समाजवाद– साम्यवाद नै हो । तर यो सोभियत संघ र पूर्वी यूरोपमा असफल भएको समाजवाद होइन, निरन्तर जनतालाई नेतृत्व दिनसक्ने समाजवाद आवश्यक छ । यसरी भन्दा भूमण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादको समाधानको आवश्यकताले एकीकृत जनक्रान्तिको कार्यदिशालाई जन्म दिएका छन् ।

    ९औं महाधिवेशनले अन्तरविरोधमा ठूलो परिवर्तन आएको भन्दै संयुक्त मोर्चामा नयाँ अवधारणा विकास गर्नुभएको हो ?
    सही भन्नुभयो । हाम्रो जनप्रिय पार्टीको नवौं मधाधिवेशनले नेपाली राजनीतिमा दीर्घकालसम्म प्रभाव राख्ने संश्लेषणहरू गरेको छ । त्यसमध्ये अर्थराजनीतिक अन्तरविरोधको परिवर्तन सम्बन्धी संश्लेषण पनि हो । हाम्रो निष्कर्ष छ कि नेपालको भूराजनीति र कम्युनिस्ट आन्दोलनको प्रभावका कारण अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनलगायतले आफ्नो साम्राज्यवादी आँखा गाडेका छन् ।

    खासगरी अमेरिकाले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने, नेपालको पानी र विद्युत ऊर्जा कब्जा गर्ने र चीनलाई घेर्ने उद्देश्यका साथ हस्तक्षेप गरिरहेको छ । उसले एमसीसी हुँदै एसपीपीमा लगेर नेपाललाई सैन्य अखडा बनाउन खोजेको छ । दलाल पुँजीवादले उसलाई ससंद्बाटै कानुन पास गरेर या निमन्त्रणा दिएर देशभित्र हुल्दैछ । यो इतिहासकै नयाँ परिस्थिति हो । यसले प्रधान अन्तरविरोधमै फेरबदल ल्याइदिएको छ । यो कुरालाई चार शक्तिहरूले समयमै बुझुन् र समाधानको मार्गमा अगाडि आउन् भन्ने हाम्रो अपिल छ । चार शक्तिमा वामपन्थी, लोकतान्त्रिक गणतन्त्रवादी, समाजवादी र देशभक्तहरू पर्दछन् । त्यसैगरी चार वर्ग पनि सङ्गठित बनुन् । त्यसमा किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग पर्दछन् । चार शक्ति र चार वर्गले संयुक्त मोर्चा बनाएर लडेमात्र अमेरिकी साम्राज्यवादलगायतको हस्तक्षेपबाट देशलाई बचाउन सकिन्छ । साथै देशलाई दलाल पुँजीवादबाट मुक्त गरेर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न सकिन्छ ।

    रणनीतिक संयुक्त मोर्चा र कार्यनीतिक संयुक्त मोर्चा दुवैमा खास प्रगति देखिएन त ! कारण के होला ?
    होइन आजको विश्वमा नेपालमात्र यस्तो देश हो जहाँ कम्युनिस्टहरूबिच नीतिगत एवं सङ्गठनात्मक दृष्टिले रणनीतिक संयुक्त मोर्चा र समाजवादी मोर्चा बनाउन सफल भएको छ । यसमा नेपाल कम्युनिस्ट पार्टी र नेतृत्वको भूमिका अग्रस्थानमा छ । जहाँसम्म क्रियाशील र प्रभावकारिताको विषय छ, यो समयअनुसार केही तलमाथि बनिरहन्छ । तर हाम्रा नीति र सफलताको प्रभाव दीर्घकालसम्म रहिरहने छ । यसको प्रयोग कुनै न कुनै रुपमा हुने निश्चित् छ ।

    समाजवादी मोर्चामा पूर्व–सहमती अनुसार नेतृत्व परिवर्तन भएको छैन । कार्यक्रम पनि छैनन् । के समाजवादी मोर्चा विघटनको दिशामा गएको हो ?
    हाम्रो पार्टी नीति बनाइसकेपछि कडाइपूर्वक लागू गर्नुपर्छ भन्ने सोच राख्छ र लागू पनि गर्छ । समाजवादी मोर्चा देशको निकै पेचिलो एवं महत्वपूर्ण समयमा गठन भयो । नेपाली विशेषताको समाजवादको लक्ष्य लिएको मोर्चाको प्रभाव निकै सशक्त छ । सात प्रदेशका सन्देश सभा र विभिन्न जिल्लामा सम्पन्न सन्देश सभाहरूले वामपन्थी, समाजवादी, कम्युनिस्टहरूमा नयाँ ऊर्जा भरेको छ । तर केन्द्रबाट जुन गतिको आवश्यकता छ, त्यो हुन सकेको छैन । स्थानीय स्तरमा संरचनाहरू बन्दै गएका छन् । यो महिनामा मोर्चाको पूर्ण बैठक बस्ने भन्ने समझदारी भएको हो । बैठक भयो भने समीक्षासहित अगाडि जान्छ । जे भए पनि मोर्चाको महत्व झनै बढेर गएको छ । थप पार्टीहरूलाई पनि आवद्ध गरेर जानुपर्ने देखिन्छ । यसबारेमा पनि छलफल हुन्छ ।

    कम्युनिस्ट र देशभक्त सजातीय तत्वहरू हुन् भन्नुभएको थियो । सहकार्यको प्रयास के कसो भइरहेको छ ?
    हो, हाम्रो विशेष बैठकले चार मित्र शक्तिको नीति पास गरेको छ । त्यसमा वामपन्थी, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी पर्दछन् । अमेरिकी साम्राज्यवादले आफ्नो सैन्य अखडा बनाउने उद्देश्यसाथ एमसीसी पास गरेपछि, साथै एसपीपी अगाडि सारेपछि हामीले नेपालको राजनीतिक अन्तरविरोध परिवर्तन भएको निष्कर्षसहित चार शक्तिलाई मित्र मानेर मोर्चा निर्माण गर्ने विचार अघि सारेका छौं । यस दिशामा केही महत्वपूर्ण प्रगति पनि भइरहेका छन् । देशको स्वाधीनता र समाजवादी गणतन्त्र स्थापना गर्न यी शक्तिका बिचमा सहकार्य हुन्छ ।

    पूर्व–पञ्च र पूर्व–राजावादीहरूले आफूलाई देशभक्त दाबि गरिरहेका छन् । उनीहरूले नै एमसीसी पारित गर्न भूमिका खेले । यहाँले कस्तो प्रवृत्तिलाई देशभक्त भन्नुहुन्छ ?
    देशभक्त प्रवृत्ति हाम्रो जस्तो अर्धऔपनिवेश या नवऔपनिवेश देशमा विद्यमान हुन्छ । कुन दल र नेतृत्वले त्यसको अगुवाइ गर्छ, त्यो परिस्थितिमा भरपर्छ । अहिले हामीले पूर्व राजावादीहरूलाई तोकेर भनेका छैनौं । मुख्यतः हामीले नेपालका उद्योग व्यवसायी, नेपाली सेना, प्रहरी, कर्मचारीभित्र देशभक्त प्रवृत्ति छ र हुन्छ भनेका छौं । त्यसैगरी नेपालका हरेक दलभित्र देशभक्त व्यक्तित्वहरू छन् भनेका छौं । तिनले देशमा देखापर्ने सङ्घर्षका क्रममा आफूलाई प्रस्तुत गर्न सक्छन कि सक्दैनन् हेर्न बाँकी छ । जहाँसम्म एमसीसी पास गर्नेको प्रश्न छ, स्पष्ट छ एमसीसी पास गर्ने कोही पनि देशभक्त हुन सक्दैन ।
    श्रम–संस्कृतिले कम्युनिस्ट आन्दोलनप्रति नै सकारात्मक प्रभाव पारेको छ । यसलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
    श्रमलाई आधार बनाएर अगाडि बढ्ने हाम्रो संश्लेषण निकै लामो अनुभव, अध्ययन र अनुसन्धानको निष्कर्ष हो । विश्वका समाजवादी सत्ताहरू ढल्नु, कम्युनिस्टहरू बदनाम हुनु, हाम्रो देश कमजोर बनिराख्नु, जनता गरिब बन्नु, माओवादी ७०को दशपछि विघटनतिर जानु, बदनाम हुनु, हाम्रो क्रान्तिलाई सफलतापूर्वक बढाउनु पर्ने जस्ता प्रश्नहरूको अध्ययनपछि हामीेले श्रम संस्कृतिलाई अगाडि सारेका छौं । त्यसलाई हामीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता र आत्मनिर्भर देशको विचार भनेका छौं । आउँदा दिनमा हामीले गुणात्मक रुपले अगाडि बढाउँदै छौं । यो वर्षसम्म कृषि उत्पादनलाई मुख्य बनाएर काम गर्छौ । अर्को वर्षबाट उद्योग र व्यापारमा पनि प्रवेश गर्छौं । आउँदो ३ वर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं । हामी सफल हुन्छौं भन्ने विश्वास छ ।
    जनयुद्धलाई उग्रवादी भन्ने र जनयुद्धका सहिदहरूलाई सहिद पनि भन्न नचाहने शक्तिहरूबिचको धु्रविकरणलाई कसरी हेर्नुहुन्छ ?
    हाम्रो सहकार्यको आधार–विन्दु नेपाली विशेषताको समाजवाद, कम्युनिस्ट पार्टीहरूले पहल गर्ने राजनीतिक परिवर्तनको आन्दोलन हुन्छ । दलाल पुँजीवाद नेपाली जनता र देशको दुर्भाग्य बनेको स्थितिमा यसलाई बदलेर नेपाली विशेषताको समाजवाद स्थापना गर्ने र त्यसबाट वैज्ञानिक समाजवादतिर अगाडि बढ्ने कार्यक्रम र कार्यदिशाले मोर्चाबन्दीलाई सहज बनाउने छ । सहकार्य अगाडि बढाउँदै जनयुद्ध र सहिदहरूको बहसलाई पनि अगाडि बढाइने छ ।

    प्रसङ्ग बदलौं । विश्व तेस्रो विश्वयुद्धतिर धकेलिंदै गएको देखिन्छ । पुँजीवादको सङ्कटलाई क्रान्तिमा बदल्ने तयारिबारे के सोचिरहनु भएको ?
    निश्चय नै विश्व दोस्रो विश्वयुद्ध पछिकै भयानक युद्धतिर धकेलिंदै गएको छ । द्वन्द्व विज्ञहरूले नयाँ प्रकारको विश्वयुद्ध भन्न थालेका छन् । यसले स्पष्ट गर्छ कि दुनियाँमा पुँजीवाद, भूमण्डलीकृत पुँजीवाद रहेसम्म शान्ति र सहकार्य सम्भव छैन । पुँजीवाद भनेको युद्ध नै हो । मुनाफाका लागि अतिउत्पादन, अतिउत्पादनका लागि बजारको नियन्त्रण र बजार नियन्त्रणका लागि युद्ध पुँजीवादको अनिवार्य चक्र हो । अमेरिकी एकल विश्वबजार अस्वीकार्य हुनु र त्यो कुरा अमेरिकालाई अपाच्य हुनु नै आजको युद्धको कारण हो । अतिउत्पादन, मुनाफा, बजारको लुछाचुँडी र युद्धले मानव जातिलाई नयाँ व्यवस्था र सभ्यताको खोजी गराउँछ । त्यसैको परिणाम वैज्ञानिक समाजवाद–साम्यवाद हो ।
    पुँजीवादी युद्धले विध्वंसमात्र होइन आफैलाई समाप्त पार्ने क्रान्तिको जन्म पनि गराउँदै आएको छ  पहिलो विश्वयद्धले महान् समाजवादी देश शोभियत समाजवादको उदय गरायो, दोस्रोले चीनलगायत कोरिया, भियतनाम, क्युवा आदि देशको उदय गरायो । यदि मानव जातिले सही सत्य बुझ्न सकेमा हालको पुँजीवादी युद्धले २१औं शताब्दीको समाजादी सत्तालाई जन्म दिनेछ । हामीलाई आशा छ, नेपाल एउटा त्यस्तो सम्भावना बोकेको देश हो । कम्युनिस्टहरूको अत्याधिक प्रभाव र बहुसंख्यक नेपाली जनताले समाजवाद चाहनुले समाजवादको उदय नेपालमा हुनसक्ने वस्तुगत सम्भावना छ । नेपाल कम्युनिस्ट पार्टी क्रान्ति र समाजवादको नेतृत्व दिन तयार छ । यसका नेता र कार्यकर्ता तयार छन् ।

    प्रतिकृया दिनुहोस्