News Portal

  • क्रुस’को विश्वयात्रा युवा उद्यमशील मृजा रासिद बेग

    जनगर्जन संवाददाता२०८० माघ २७
    २६ पटक
    २०८० माघ २७

    उनी व्यापारिक घरानामा जन्मिएका पनि होइनन्। परिवार वा आफन्तको कुनै उद्योगधन्दा चलाएका छैनन्। परिवारले पुस्त्यौली खेतीपाती गर्दै आए। तर, उनको चिन्तनका कारण तीन सय जनाले रोजगारी पाएका छन्।

    उत्पादित वस्तु स्वदेशी बजारमा होइन, विश्व बजारमा ‘हाई डिमान्ड’ छ। उत्पादन शतप्रतिशत निर्यात हुन्छ। कपिलवस्तुका मिर्जा रासिद बेगले सुरु गरेको ‘निटिङ निडल्स’ अर्थात् स्वेटर बुन्ने क्रुस उद्योगको वास्तविकता हो यो। मुलुकमा व्यापार घाटा चुलिँदो छ। बेरोजगारीले युवा विदेश पलायन जारी छ।

    एक जनाले कुनै उद्योग सुरु गर्‍यो भने देखासिकी गरेर त्यस्तै उद्योग तथा व्यवसाय गर्ने प्रचलन पनि छ। यसका बाबजुत कपिलवस्तुका युवा मिर्जाले नवीन सोचका साथ नयाँ उद्योग सुरु गरे। जुन उद्योगले स्थानीयलाई रोजगारी त दिएको छ नै, विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम पनि बनेको छ। नेपालको उत्पादन विश्व बजारमा पुगेको छ।

    इम्बार्क इन्टरनेसनल कम्पनी स्थापना गरेर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ मा निटिङ निडल्स उद्योग सञ्चालन गरेपछि उद्योगबाट वार्षिक करिब २० करोड रूपैयाँको निडल्स निर्यात भएको छ।

    ‘उत्पादन गरेको क्रुस एउटा पनि स्वदेशमा बिक्री हुँदैन,’ मिर्जाले भने, ‘शतप्रतिशत उत्पादन विश्व बजारमा निर्यात हुन्छ।’

    उनका अनुसार यो निडल्स ८० भन्दा बढी देशमा निर्यात हुन्छ। मिर्जाको उद्योगमा उत्पादन भएको निडल्स अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया लगायतका मुलुकमा निर्यात हुने गरेको छ।

    करिब दुई करोडबाट सुरु गरेको स्टार्टअपमा अहिले करिब ३० करोड रूपैयाँ लगानी पुगेको उनले बताए। यो उद्योगले नयाँ सम्भावनाको ढोका खोलेको छ। ‘स्थापनादेखि अहिलेसम्म एक रूपैयाँको पनि स्थानीय बजारमा बिक्री गरेको छैन,’ उनले भने, ‘यो नेपालकै नमुना उद्योग हो।’

    उद्यमशीलताले व्यक्तिसँगै देशको आर्थिक विकासमा टेवा पुग्ने उनी बताउँछन्। उद्यमशीलताले उद्यमीलाई आर्थिक रूपमा सबल बनाउँछ नै, यसले देशको आर्थिक विकासमा सहयोग पुग्छ। उद्यमशीलताले उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न, नयाँ अवसरको सिर्जना गर्न, जोखिम बहन गर्ने क्षमता बढाउन, सिर्जनशीलता तथा नवप्रवर्तनमा लाग्न अभिप्रेरित गर्छ भन्ने मान्यतालाई आत्मसात गरेर मिर्जाले काम गर्दै आएका छन्।

    निडल्सलाई कपडा बुन्ने सुइरोका रूपमा बुझ्न सकिन्छ। जुन काठबाट बनेकाले वातावरण मैत्री छ। त्यसैले विश्व बजारमा लोकप्रियता बढ्दै गएको छ। यो फलाम वा स्टिलको निडल्सभन्दा महँगो हुन्छ। २० वर्षसम्म ढुक्कका साथ प्रयोग गर्न सकिने उनी बताउँछन्।

    काठको निडल्स प्रयोग गर्दा कुनै असर गर्दैन। गुणस्तरीय उत्पादनमा ध्यान दिएको उनले बताए। निडल्स निर्माणका लागि विशेष किसिमको काठ प्रयोग हुने गरेको छ। कच्चा पदार्थ चीन, रसियालगायतका मुलुकबाट ल्याउने गरेका छन्।

    नेपाली बजारमा रड वा स्टिलको निडल मात्र प्रयोग हुने गरेको छ। नेपाली बजारमा माग नभएको पनि होइन। गुणस्तरीय भएकाले डलरमा विश्व बजारमा महँगोमा बिक्री हुने भएकाले स्वदेशी बजारमा उनले ध्यान दिएका छैनन्।

    स्टार्र्टअपबाट सुरु गरेको उनको व्यवसायले अहिले उद्योगको आकार ग्रहण गरेको छ। भारतको कानपुर विश्वविद्यालय इएमबिए सकाएपछि रोजगारीको सिलसिलामा कतार हुँदै चीन पुगे। चीनमा काम गर्दागर्दै त्यहीं व्यवसाय पनि सुरु गरे। व्यवसायमा हात हालेपछि उनलाई आफ्नै जन्मभूमिमा केही गरौं भन्ने लागेर स्वदेश फर्किएको बताउँछन्।

    ‘व्यक्तिगत रूपमा विदेशमै व्यवसाय गर्दा फाइदा थियो,’ गैर आवासीय नेपालीका रूपमा चीनमा १० वर्ष काम गरेका मिर्जाले भने, ‘आफ्नै मुलुकमा रोजगारी सिर्जना गर्न केही नयाँ काम सुरु गर्नुपर्छ भनेर नेपाल फर्किएको हुँ।’

    नेपाल आउनुअघि उनले धेरै विषयमा अध्ययन गरे। नेपाली समाजमा एउटाले सुरु गरेपछि अर्को उस्तै प्रकारको उद्योग व्यवसाय सञ्चालन गर्ने प्रचलन छ।

    उनले उद्योग सुरु गर्नुभन्दा पहिला दुइटा कुरालाई विशेष ध्यान दिए। पहिलो रोजगारी सिर्जना गर्ने, दोस्रो स्वदेशमै बसेर विदेशी मुद्रा आर्जन गर्न सकिने। खोजी गर्दै जाँदा उनले निडल्स उद्योगको सम्भावना देखे। अनि स्वदेश आएर आफ्नै गाउँमा उद्योग सुरु गरे।

    ‘चीनमै बसेर सानो उद्योग, व्यवसाय गर्ने सुरक्षित अवसर थियो,’ उनले भने, ‘तर, आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने जिम्मेवारी बोध भएर फर्किएको हुँ।’ उमेरले ४० ननाघेका मिर्जा आफैं गाउँमा करिब तीन सयलाई रोजगारी दिन सकेकोमा गर्व गर्छन्।

    ‘स्वदेशमा कामको अवसर नपाएर म आफैं वैदेशिक रोजगारीमा गएको हुँ,’ उनले भने, ‘आफ्नै छरछिमेकका महिला दिदीबहिनीलाई रोजगारी दिन पाएकोमा गर्व लागेको छ।’

    उनको उद्योगमा काम गर्नेमध्ये करिब ६० प्रतिशत कपिलवस्तुका स्थानीय महिला छन्। यसले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुगेको छ। सामान्य लेखपढ गर्ने महिलाले समेत रोजगारी पाएका छन्। सुरुमा तालिम दिएर काम गर्ने अवसर प्रदान गर्ने गरेको उनी बताउँछन्।

    ‘काम गर्नेलाई केही महिना सिप सिकाउँछौं,’ मिर्जाले भने, ‘निडल्स बनाउने सिप सिकेपछि रोजगारी पाउँछन्।’ दक्ष जनशक्ति नभएकाले आफैं सिप सिकाउने गरेका छन्। विदेशबाट कच्चा पदार्थ आयात गरे पनि करिब ६०–७० प्रतिशत भ्यालु एड हुने उनले बताए।

    मिर्जालाई मुलुकमा औद्योगिक वातावरण नभएकोमा भने चिन्ता छ। सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनी बताउँछन्। अन्य मुलुकले लगानीकर्तालाई सम्मान गरे पनि नेपालमा त्यसो हुन नसकेको उनले सुनाए।

    ‘लगानीकर्ताले आफ्नो लगानी सुरक्षित होस् भन्ने चाहन्छ,’ उनले भने, ‘नेपालमा सरकारी नीतिनियमको झन्झटिलो प्रक्रियाले नयाँ उद्योग सञ्चालन गर्न कठिन छ।’

    सरकारले निर्यातजन्य उद्योगलााई प्रोत्साहित गर्ने नीति ल्याए पनि आफूले सुविधा नपाएको उनी बताउँछन्। उद्योग विभागदेखि मन्त्रालय हुँदै अर्थ मन्त्रालय धाउँदा पनि सुविधा पाउन नसकेकोमा दुखेसो पोख्छन्। ‘निर्यातजन्य उद्योगलाई निर्यातको केही प्रतिशत दिने नीति छ,’ उनले भने, ‘शतप्रतिशत निर्यात गर्दा पनि सुविधा पाइनँ।’

    मिर्जाले विदेशबाट डलर ल्याए पनि सरकारबाट केही सहुलियत नपाएकोमा चित्त दुखाएका छन्। ‘सबैतिर धाए पनि अहिलेसम्म निर्यात अनुदानको सुविधा पाउन सकेको छैन,’ उनले भने।

    सरकारले सिमेन्ट, क्लिंकर, स्टिल, जुत्ता, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसायलगायतमा ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरेको छ। विगतमा २७ प्रकार वस्तुमा भ्यालु एडिसनको प्रतिशत हेरी ३ देखि ५ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरेको थियो। उद्योगसम्म पुग्ने सडक निर्माण गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ।

    राज्यका निकायबाट सहयोग नपाए पनि उनी उद्योगलाई विस्तार गर्दै लैजाने योजनामा छन्। ‘मुलुकको आर्थिक विकास गर्ने हो भने औद्योगिकीकरण हुनु आवश्यक छ,’ उनले भने, ‘सरकारले लगानीको वातावरण र पूर्वाधार विकासमा सहयोग गर्नुपर्छ।’

    शतप्रतिशत निर्यातजन्य उद्योगलाई विशेष सहुलियत तथा सुविधा दिनुपर्ने उनी बताउँछन्। उद्योग दर्तादेखि सञ्चालनमा हुने झन्झटिला प्रक्रिया हटाउनुपर्ने उनको सुझाव छ। ‘सरकारले पुरानो काम गर्ने शैली बदल्नुपर्छ,’ उनले भने।

    उद्योग स्थापना तथा सञ्चालनका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे। लगानीकर्तालाई सरकारले सम्मान गरोस् भन्ने चाहन्छन्। ‘व्यक्तिगतसँगै मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउन जोखिम मोलेको हुँ,’ उनले भने, ‘तर, नेपालमा उद्यमशीलतालाई सम्मान गर्ने संस्कृतिको विकास भएको छैन।’ 

    प्रतिकृया दिनुहोस्