काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि ७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
चौतर्फी विरोधका बीच सरकारले हालैमात्र नियुक्त गरेका उपाध्यक्ष लामाले सरकारको आर्थिक सहयोग बिना दाताहरूको सहयोगमा मायादेवी मन्दिरको जीर्णोद्धार तथा मन्दिरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकमा उपाध्यक्ष लामाले मन्दिरको जीर्णोद्धारको लागि स्थापना गरिने कोषमा व्यक्तिगत रूपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने गरेको छ, कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिम छ। उपाध्यक्ष लामाले पानी चुहिने र जुनसुकै बेला पनि भत्किन सक्ने जोखिममा रहेको मायादेवी मन्दिरको जीर्णोद्धारको लागि कोष स्थापना गर्ने र त्यसमा सरकारको आर्थिक सहयोग नलिने प्रस्ताव गरेका थिए।
लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराई सहभागी थिए।
बैठकमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत भएको छ।
वैदेशिक रोजगारमा ठगी, भ्रष्टाचारका आरोपी तथा बैंकको लकरमा गोली राखेको अवस्थामा भेटिएका लामालाई सरकारले विश्वका शान्तिको मुहान पवित्र भूमि लुम्बिनीको नेतृत्व सुम्पिएको भन्दै सरकारमा सहभागी दलका नेताहरूले नै विरोध जनाएका थिए।
लामाले नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली राखेको अवस्थामा २०७२ साल फागुन ३० मा प्रहरीले फेला पारेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७३ सालमा लामाविरूद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
वैदेशिक रोजगारी ठगीको आरोपमा समेत जेल बसेका लामामाथि अख्तियारले झण्डै १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरे पनि विशेष अदालतले भने लामालाई सफाइ दिएको थियो।
यसअघि लुम्बिनी विकास कोषको उपाध्यक्ष रहेका अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल गत साउन १० गते पूरा भएपछि उपाध्यक्ष नियुक्त भएका लामाले मायादेवी मन्दिरको जीर्णोद्धारको लागि भन्दै ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।