News Portal

  • गोरखामा प्रहरीले बरामद गरेको पत्थर ‘क्वार्ज क्रिष्टल’ प्रमाणित

    जनगर्जन संवाददाता
    २७६ पटक

    गोरखा । प्रहरीले गोरखा नगरपालिका-७ स्थित एक घरबाट गत असार १४ गते बरामद गरेको पत्थर ‘क्वार्ज क्रिष्टल’ प्रमाणित भएको छ । खानी तथा भूगर्भ विभागबाट आएको टोलीले दुई दिन लगाएर गरेको परीक्षणको क्रममा पत्थर ‘क्वार्ज क्रिष्टल’ प्रमाणित भएको हो ।

    विभागकी जियोलोजिष्ट डाक्टर सुस्मिता भण्डारी नेतृत्वको टोलीले अध्ययनपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार प्रतिवेदन समेत बुझाएको छ ।

    ५२ केजी तीन सय ३० ग्रामको (पत्थर मात्रको) हल्का पारदर्शी ठोस वस्तु जोमोलोजी तथा मिनरोलोजी मुकाम प्रयोगशालामा परीक्षण गर्दा ‘क्वार्ज क्रिष्टल’ रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त पत्थर ‘खानी तथा खनिज पदार्थ नियमावली २०५६ को अनुसुची–१’ बमोजिम महत्वपूर्ण तथा बहुमुल्य खनिज जेम्स स्तरको ‘क्वार्ज क्रिष्टल’ रहेको प्रतिवेदनले औल्याएको छ । खानी तथा खनिज पदार्थ ऐन,२०४२ को दफा २५ (१) अनुसार खनिज कार्य गर्ने अनुमति नलिई अनाधिकृत तबरले उत्खनन तथा संकलन गरिएको खनिज पदार्थ खानी तथा भूगर्भ विभागको जिम्मा लगाउन पनि माग गरिएको छ । उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पनि परीक्षण प्रतिवेदन मार्फत् माग गरिएको हो । धार्मिक आस्थासँग जोडिएको उक्त ढुङ्गा गोरखा दरबार वा संग्रहालयमा राख्न विभिन्न संघ संस्थाले यस अघि नै माग राख्दै आएका छन् ।

    क्वार्ज क्रिष्टल गरगहना तथा सजावटको सामान बनाउन प्रयोग हुन्छ । विभागको टोलीलाई गोरखामै बोलाएर ढुंगाबारे अध्ययन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । ‘ढुंगा क्वार्ज क्रिष्टल रहेको प्रमाणीत भएको छ,’ उनले भने । विभागले पत्थर उपलब्ध गराउन गरेको आग्रहबारे भने छलफल पछि निर्क्यौल गर्ने उनले बताए ।

    व्यक्तिगत रुपमा पूजाका लागि राखिएको ढुंगा किनबेच हुन लागेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । बरामदपछि उक्त पत्थर जिल्ला प्रहरी कार्यालय परिसरमा रहँदै आएको थियो । उक्त ढुंगामा टर्च वा केहीको उज्यालो पर्दा यसको प्रकास वारपार हुने प्रहरी बताउँछ । विभागको टोलीले बुधबार गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना, प्रजिअ भुसाल र प्रहरी प्रमुख अनुपम श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।

    प्रतिकृया दिनुहोस्