News Portal

  • ७ जना सहित ढोरपाटनका नगर प्रमुखको यात्रा अनुमति रद्द गर्न गृहको पत्राचार

    जनगर्जन संवाददाता
    ११४ पटक

    विष्णु विश्वकर्मा,बागलुङ — गृह मन्त्रालयले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको छ । शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा विभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो ।

    केही दिनदेखि नगर प्रमुख नेपालीसहित सहकारीका पदाधिकारी सम्पर्कविहीन छन् । ढोरपाटन नगरपालिका १ र बागलुङ नगरपालिका २ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका प्रमुख नेपाली भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिए ।सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रतिव्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैयाँ बचत संकलन गरेको छ । १८ प्रतिशत ब्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतबार बेलुकी पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।

    संस्थापक अध्यक्षको रुपमा नेपालीसहित सहकारीको कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो । विक गलकोट नगरपालिका ११ र शाही निसीखोला गाउँपालिका ३ का बासिन्दा हुन् भने अरु सबै ढोरपाटन नगरपालिका १ का बासिन्दा हुन् ।

    प्रतिकृया दिनुहोस्