News Portal

  • रावलको प्रश्न- ‘सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ?’

    जनगर्जन संवाददाता
    १४९ पटक

     

    नेकपा (एमाले)का नेता भीम रावलले सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेकोमा प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगाबाट नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नुपर्ने नेता रावलको माग छ ।

    रावलले शनिबार सामाजिक संजालबाट दार्चुला घटनाको विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नुपर्ने भन्दै उक्त टिप्पणी लेखेका हुन् ।

    ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ । १४ वर्षीया सरीना महरा घाइते भएकी छन्,’ उनले सोधेका छन्, ‘सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’

    महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो । उक्त घटनाको नेपालले विरोध गर्नुपर्ने एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले पनि माग गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विषयमा बोल्नुपर्ने माग गरेका छन् । भारतीय एसएसबीले महाकाली नदी तर्ने क्रममा तुइन काट्दा जयसिंह धामी गतविर्ष बगेर बेपत्ता भएका थिए ।

    दार्चुलामा भएको घटनाको बारेमा परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा केही बोलेको छैन । उक्त घटनाको सामाजिक संजाललगायतमा विरोध भइरहेको छ र सरकारले यस घटनाका विषयमा बोल्नुपर्ने र विरोध जनाउनुपर्ने माग भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्