News Portal

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना

    जनगर्जन संवाददाता
    २६८ पटक

    २० बैशाख, काठमाण्डौं   इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदले समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा इदको शुभकामना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संर्बद्दन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरिन् । उनले पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन्।

    सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, “मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इदउलफित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताए । प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्