News Portal

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या : श्रीमानले गरे आत्मसमर्पण

"ममाथि चक्कु प्रहार भएकाले चार जनाको हत्या गरेको छु, मलाई पक्राउ गर्न आउनुहोस्"

जनगर्जन संवाददाता२०८२ आषाढ २२
१०० पटक

काठमाडौं । भोजपुरमा एक युवाले आफ्नै परिवारका चार सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुराली घरमा गएर सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्र राईले शनिबार राति १ बजेर १५ मिनेटमा प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूले हत्या गरेको जानकारी दिएका थिए। उनले “ममाथि चक्कु प्रहार भएकाले चार जनाको हत्या गरेको छु, मलाई पक्राउ गर्न आउनुहोस्” भन्दै आत्मसमर्पण गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी, १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव फेला पारेको छ। श्रीमती र सालो नाबालक भएकाले प्रहरीद्वारा नाम गोप्य राखिएको छ।

घटनापछि फरार रहेका राईलाई करिब ४–५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका–१ हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उनको पेटमा धारिलो हतियारको चोट देखिएको छ र हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक बयान अनुसार, शनिबार राति करिब ११ बजे सासुले चक्कु प्रहार गरेपछि आफूले प्रतिशोधस्वरूप चार जनाको हत्या गरेको उनले बताएका छन्। “उनी बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,” इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

राजेन्द्र राईले एक वर्षअघि ती किशोरीसँग प्रेम विवाह गरेका थिए। घटनाले स्थानीय समाजमा ठूलो त्रास फैलिएको छ भने प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्