News Portal

  • भारतको उत्तराखण्डका मुख्यमन्त्रीले दिए राजीनामा

    जनगर्जन संवाददाता
    ६८५ पटक

    २५ फागुन, काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजीनामाको निर्णय आफ्नो एकल निर्णय नभई पार्टीले लिएको निर्णय भएको उल्लेख गरेका छन् ।

    भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका रावतले यस विषयमा जानकारी दिन बुधबार आफूले सबै सांसदको बैठक बोलाएको बताएका छन् । राजीनामाबारे सोधिएको प्रश्नमा यसको उत्तर दिल्ली (केन्द्र सरकार)ले दिने बताए । पछिल्लो केही दिनयता उनीमाथि पदबाट राजीनामाको दबाव बढ्दै गएको थियो । यसअघि भाजपाका सांसदले उनी केन्द्र सरकारको सम्पर्कमा रहेको र पार्टीका अध्यक्षले पनि उनीसँग कुरा गरेको बताएका थिए ।

    सन् २००० मा गठन भएको उत्तराखण्डमा अहिलेसम्म आठजना मुख्यमन्त्री बनिसकेका छन् । ७० सदस्यको उत्तराखण्डको विधानसभामा अहिले भाजपाका ५६ विधायक छन् भने कांग्रेसका ११ विधायक छन् । दुई स्वतन्त्र विधायक छन् भने एक सिट खाली छ ।

    उत्तराखण्डका मुख्यमन्त्रीको निर्णयबारे पार्टीभित्र निकै असन्तोष रहेकाले पार्टीले उनलाई पदबाट राजीनामा गराउन लगाएको उत्तराखण्डका जानकारहरुले बताएका छन् । उनको कारण उत्तराखण्डका मानिसमा सरकारप्रतिको धारणा नकारात्मक बनेको भन्दै भाजपाले उनलाई पदबाट राजीनामा दिलाउन लगाएको बताइएको छ ।

    -एजेन्सीहरुको सहयोगमा

     

    प्रतिकृया दिनुहोस्