
बाँके । नेपाली सेनामा विविधता र समावेशितातर्फ एक ऐतिहासिक कदम चालेको छ। पहिलोपटक शिख समुदायका सदस्य नेपाली सेनामा भर्ना हुन सफल भएका छन्। बाँकेको जानकी गाउँपालिका–२, बनकटवाका करण सिंह शिख नेपाली सेनामा प्रवेश गर्ने शिख समुदायका पहिलो व्यक्ति बनेका हुन्।
करण सिंह शिखको यो उपलब्धि न केवल उनी र उनको परिवारका लागि गर्वको विषय बनेको छ, तर समग्र शिख समुदायका लागि पनि प्रेरणादायी मानिएको छ। नेपालको समावेशी र समान अवसरको नीति अन्तर्गत सबै जातजाति र समुदायलाई राष्ट्रिय सेवामा प्रतिनिधित्व दिने प्रयास सफल बन्दै गएको यो उदाहरण हो।
नेपाली सेनाले विगत केही वर्षयता विभिन्न जातीय, भाषिक, धार्मिक र भौगोलिक पृष्ठभूमिका नेपाली युवाहरुलाई सेवा अवसर दिँदै आएको छ। यसै क्रममा शिख समुदायबाट पनि प्रतिनिधित्व हुनुले नेपाली सेनाको समावेशी चरित्रलाई थप मजबुत बनाएको छ। यसले सम्पूर्ण नेपाली समाजलाई एउटै सूत्रमा बाँध्न योगदान पुर्याउने विश्वास गरिएको छ ।
नेपालमा शिख समुदायको संख्या अत्यधिक छैन, तर उनीहरू सामाजिक, धार्मिक र आर्थिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। विशेषगरी पश्चिम तराई क्षेत्र, जस्तै बाँके र बर्दिया जिल्लामा केही शिख परिवारहरु बसोबास गर्छन्। धार्मिक सहिष्णुता, अनुशासन, र सेवाभावमा दृढ रहने यो समुदायको नेपाली समाजमा विशेष पहिचान छ।
करण सिंह शिखको नेपाली सेनामा प्रवेशले युवा पुस्तामा राष्ट्रिय सेवाप्रति रुचि र उत्साह बढाउने विश्वास गरिएको छ। यसले अन्य समुदायका युवाहरुलाई पनि प्रेरणा दिनेछ कि जुनसुकै समुदाय वा पृष्ठभूमिबाट आएका भए पनि, इच्छाशक्ति र लगनशीलता भएमा राष्ट्रसेवामा सहभागी हुन सकिन्छ।
स्थानियबासीहरू र सामाजिक अगुवाहरूले करण सिंह शिखको सफलता प्रति हार्दिक बधाई दिएका छन्। उनीहरूले भनेका छन्, “यो हाम्रो गाउँ मात्र होइन, सिङ्गो शिख समुदायका लागि गर्वको कुरा हो।”