News Portal

  • एमसिसी कार्यान्वयन विरुद्ध तुलसीपुरमा नेकपाले राखेको डिजिटल बोर्डमा प्रशासनको रोक

    हेमन्त प्रकाश ओली
    १९४ पटक

     

    दाङ तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध डिजिटल प्रचार गरेको छ ।

    नेकपाले एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध जनतामा जागरण पैदा गर्ने उद्देश्यले तुलसीपुरको बिरेन्द्र चोकमा रहेको डिजिटल बोर्डमा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गरौं लेखिएको पोस्टर प्रचार गरेको हो ।

    यता नेकपाको डिजिटल प्रचारलाइ समेत प्रहरी प्रशासनले रोक लगाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले खोजम अडभर्टाइजिङ एण्ड म्यानेजमेन्ट प्रालीका सञ्चालकलाई प्रहरी कार्यालयमा बोलाएर प्रचार हटाउन निर्देशन दिएका हुन् ।

    सिडियोको आदेश हो भन्दै इप्रका तुलसीपुरका डिएसपी पुष्पराज मल्लले एमसिसी विरुद्धको जागरण प्रचार हटाउन निर्देशन दिएको सञ्चालक प्रबिन चौधरीले बताएका छन् ।

    एमसिसी विरुद्धको जागरण प्रचारलाइ रोक लगाएपछी नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले देश र जनताको निम्ति , राष्ट्रिय स्वाधीनताको आन्दोलनमा प्रशासनले रोक लगाउनु दुर्भाग्य भएको बताएका छन् । डेलिन्युजराप्तीसंग फोन संवादमा कुरा गर्दै नेता प्रदिपले भने – ‘हामी राष्ट्रिय स्वाधीनताका निम्ति लडिरहेका छौँ । स्वाधीनताको आन्दोलनमा राज्यको जिम्मेवार निकायले रोक लगाउनु दुर्भाग्य हो । उहाँहरु पनि देशकै निम्ति हो भने देशका निम्ति गरिरहेको संघर्षमा साथ दिनुपर्छ । राज्यको ग्रान्ड डिजाइनमा एमसिसी विरुद्ध आन्दोलन गरिरहेका शक्तिलाइ निस्तेज पार्ने षड्यन्त्र भइरहेको छ।’

    नेता प्रदिपले पार्टीले शसुल्क एमसिसी कार्यान्वयन विरुद्ध गरेको डिजिटल प्रचारलाइ प्रशासनले रोक्ने मात्रै नभएर एडभर्टाइजिङ व्यवसाय चलाएका व्यक्तिलाइ समेत व्यवसाय गरेर खाने वातावरणका विरुद्ध जाने कदमप्रती गम्भीर आपत्ती व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्