
काठमाडौ । काठमाडौंमा आयोजित राजावादी आन्दोलनको समाचार संकलनका क्रममा नेपाल पुकार युट्युव च्यानलका सञ्चालक श्री प्रकाशचन्द्र दाहालमाथि लगाइएको आपराधिक अभियोगप्रति हामी अनलाइन टिभी पत्रकार संघ, नेपाल घोर आपत्ति र विरोध प्रकट गर्दछौं।
दाहालले एक स्वतन्त्र पत्रकारको हैसियतमा घटनास्थलबाट लाइभ प्रसारण गरी आम नागरिकलाई तथ्यगत जानकारी दिने प्रयास गरेका थिए। पत्रकारिताको धर्मअनुसार गरिएको यो कार्यलाई अपराध ठहर गर्दै राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योगजस्ता गम्भीर मुद्दा दर्ता गर्नु प्रेस स्वतन्त्रताको घोर उल्लंघन हो।
यो घटना पत्रकारमाथि गरेको दमनको स्पष्ट संकेत हो र हामी यसप्रति चिन्तित छौं। पत्रकारिताको धर्म भनेको सत्यको खोज र प्रसारण हो, जसमा प्रश्न उठाउने र जनतालाई सूचना दिने अधिकार लोकतान्त्रिक मुल्य र मान्यताभित्र सुरक्षित रहनुपर्दछ।
अतः हामी सम्बन्धित सरकार, प्रहरी प्रशासन र न्याय प्रणालीलाई आग्रह गर्दछौं:
१ दाहालमाथि लगाइएका सबै आरोप तत्काल फिर्ता गरियोस्।
२ स्वतन्त्र पत्रकारिताको रक्षा गर्न प्रेस स्वतन्त्रताको सुनिश्चितता गरियोस्।
३ पत्रकारितामा संलग्न जो कोहीलाई भय र दमनमा राख्ने कार्य तत्काल बन्द गरियोस्।