
९ वैशाख, काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने भएको छ । परीक्षा पर्सि (बिहीबार) ११ गतेदेखि सुरु हुने तयारीमा रहे पनि अब तय मितिभन्दा १० दिन पछाडि सारिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय गरिएको छ भने तालिका भने भोलि मात्र सार्वजनिक गरिनेछ । तालिका तय गर्नका लागि बोर्डको बैठक बस्ने तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ बालुवाटारमा परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँगको छलफलमा परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए ।
यसअघि बोर्डले पर्सि ११ गतेदेखि नै परीक्षा गर्ने निर्णय गरेको थियो र सबै संयन्त्र प्रयोग गरेर तयारीमा जुटेको थियो । तर शिक्षकहरूको आन्दोलन नटुङ्गिएकाले अन्ततः परीक्षा सार्ने निर्णय लिइएको हो ।