
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशको शिक्षाको अवस्था चिन्ताजनक रहेको बताउँदै गुणस्तरीय शिक्षाको लागि सबै तहका सरकार र सरोकारवालाको समन्वय आवश्यक भएको बताएका छन्।
जनकपुरधाममा बुधबार आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा बोल्दै उनले शिक्षकहरू जनताप्रति समर्पित, जवाफदेही र इमानदार बन्नुपर्नेमा जोड दिए। “गुणस्तरीय शिक्षा प्रदान गर्न संघीय सरकारको पनि उत्तिकै भूमिका रहन्छ,” उनले भने।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरूले राजनीति छाडेर आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताइन्। उनले अध्यापन कार्यलाई मुख्य जिम्मेवारी मानेर शिक्षाको गुणस्तर सुधार्न आग्रह गरिन्।
प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादवले शिक्षाको खस्कँदो अवस्थामा शिक्षक र अभिभावक दुवै जिम्मेवार रहेको टिप्पणी गरे।
श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले शिक्षामा सुधार ल्याउन प्रदेश सरकारको मात्र प्रयास पर्याप्त नभई तीनवटै तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए।
सम्मेलनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राप्रपाका नेता तथा प्रदेशसभा सदस्य कञ्चन विच्छालगायतले समेत विचार राखेका थिए।
मधेस प्रदेशभरिका प्रधानाध्यापक, प्राचार्य, शिक्षा अधिकारी, विज्ञ र सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको सम्मेलनमा सरोकारवाला विज्ञहरूद्वारा पाँचवटा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो।