News Portal

दाङको साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी, नियन्त्रणमा आउन कठिनाइ

जनगर्जन संवाददाता२०८१ चैत्र ११
४९ पटक

दाङ, घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। उद्योगमा लागेको आगो निभाउन विभिन्न नगरपालिका र जिल्लाबाट आएका सात वटा दमकल प्रयोग भए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट दमकल मगाइएको छ। प्लाई उत्पादनमा प्रयोग हुने सामग्रीहरू दह्रै ज्वलनशील भएका कारण आगो निभाउन समय लागेको अधिकारी लम्सालले बताए।

“प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ,” लम्सालले भने, “निभाउन अझै केही समय लाग्ने देखिन्छ।”

यद्यपि आगलागीको क्षेत्र वरिपरि रहेको बस्तीका लागि तत्काल कुनै जोखिम नरहेको र सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले जनाएका छन्। आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिए पनि हालसम्म वास्तविक क्षतिको विवरण प्राप्त हुन सकेको छैन।

आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयबासीहरू लागिपरेका छन्। आगलागीको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

आगो नियन्त्रणमा आउने बित्तिकै क्षतिको पूर्ण विवरण सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्