News Portal

  • बागलुङको कालीगण्डकी नदीमा २५ वर्षपछि सामूहिक तोरण तारिदै

    दिनेश विकल्प२०८१ कार्तिक २७
    ११८ पटक

    बागलुङ । हरिबोधनी एकादशी मेला व्यवस्थापन समिति बागलुङले मंगलबार बाबियो र कुशबाट बनाइएको १५० मिटर लामो तोरण कालीगण्डकी नदीमा २५ वर्षपछि सामूहिक रुपमा तोरण तारेको छ।

    उक्त १५० मिटर लामो तोरण बागलुङ नगरपालिका–४ उपल्लाचौरको उपगौरी महिला समूहले बाटेको थियो भने पूजा र व्यवस्थापन एकादशी मेला व्यवस्थापन समितिले गरेको थियो। बागलुङमा २०५७ सालदेखि रोकिएको एकादशी मेला यस वर्षदेखि सुरु गरिएको हो। समितिले भजनकीर्तन, पञ्चेबाजासहित तोरणको डोली फुलमाला बागलुङ बजारबाट कालीगण्डकी नदीमा लगेर तारेको हो।

    सो अवसरमा स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले तोरण तार्ने कामदेखि अन्य कार्यमा पनि साथ दिएका थिए। एकादशीको अवसरमा स्थानीयहरूले तयार पारेको १० लाख बढी दीप प्रज्वलन कालीगण्डकी नदी किनारमा गरिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताएका छन । परम्परागत रूपमा एकादशी नुहाउन पनि कालीगण्डकी नदीमा सयौं मानिस पुगेका थिए। मेलालाई अबदेखि निरन्तरता दिने गरी प्रशासन र स्थानीयले सहमति गरेका छन्।

    समितिका अध्यक्ष राजभण्डारीले अब हरेक वर्ष फूलको डोली र तोरण तार्ने, भजन र पञ्चेबाजा लगायतका सांस्कृतिक नृत्य र झाँकी समेत प्रदर्शन गर्ने व्यवस्थापन गरिने बताएका छन । उनले भने‘ऐतिहासिक महत्वका पर्वलाई जीवन दिनुपर्छ भनेर पहल गरेका हौं,’ अध्यक्ष राजभण्डारीले भने,‘सबैले साथ र सहयोग गरेमा मेलाले जीवन पाउनेछ। एकादशी मेलालाई निरन्तरता दिन प्रशासनसँग सहमति गरेका छौं।’

    प्रतिकृया दिनुहोस्