
वाशिङ्टन डीसी । विश्वका चर्चित उद्यमी तथा टेस्ला–स्पेसएक्सका मालिक एलोन मस्कले अब राजनीतिमा पनि पाइला चालेका छन् । उनले अमेरिकामा नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । “अमेरिकी स्वतन्त्रता पार्टी” नाम दिइएको उक्त पार्टीमार्फत मस्कले अमेरिकी जनतालाई “स्वतन्त्रता पुनः प्राप्त गराउने” प्रतिबद्धता जनाएका छन् ।
मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा पोल गराउँदै जनमत संकलन गरेका थिए, जहाँ ६५ प्रतिशतभन्दा बढी प्रयोगकर्ताले नयाँ पार्टी खोल्नुपर्ने मत दिएका थिए । सार्वजनिक दबाब र राजनीतिक ध्रुवीकरणबीच मस्कले स्वतन्त्र सोच र नवप्रवर्तनमुखी नीतिमा आधारित नयाँ राजनीतिक विकल्प आवश्यक भएको बताएका छन् ।
उनले भने, “अमेरिकामा राजनीतिक विकल्पहरू अत्यन्तै सीमित छन्, दुई मुख्य पार्टीबीच मात्र सिमित रहेकाले स्वतन्त्र विचारको प्रतिनिधित्व हुँदैन । यही कारण मैले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हुँ ।”
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पछिल्ला दिनमा सार्वजनिक रूपमै बढ्दो तिक्तता देखिएका मस्कले आफूलाई कुनै एक पार्टीको पक्षमा नरहेको प्रष्ट पारेका छन् । उनले अमेरिकी राजनीतिलाई “पुनःजनताको पक्षमा फर्काउने” उद्देश्यसहित अभियान अघि बढाउने संकेत दिएका छन् ।
राजनीतिक वृत्तमा मस्कको यो कदमलाई अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार प्रविधिमा आफ्नो प्रभाव जमाइसकेका मस्कले राजनीतिमा पनि जनताको ध्यान आकर्षित गर्न सक्ने संकेत देखिएको छ ।
उनको पार्टीको औपचारिक घोषणासँगै आगामी चुनावी मैदान थप रोचक बन्नेछ ।