News Portal

देशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जनगर्जन संवाददाता२०८२ आषाढ १४
४३ पटक

काठमाडौं । देशका विभिन्न भागमा आज साँझदेखि सोमबारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याएको हो ।

महाशाखाका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई “भारी वर्षा” र १०० देखि २०० मिलिमिटरसम्म पानी पर्नुलाई “धेरै भारी वर्षा” मानिन्छ । आगामी तीन दिन ती क्षेत्रमा यस्तै खालको वर्षा हुने प्रक्षेपण गरिएको छ ।

विशेषगरी पहाडी भेगहरूमा पहिरो तथा भू-क्षयको जोखिम रहेको र तराईका बस्ती तथा कृषि क्षेत्रहरूमा डुबान हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस किसिमको वर्षाका कारण ठूला र साना नदी तथा खोलामा पानीको सतह एक्कासि बढ्न सक्ने र दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाको चेतावनी छ ।

महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, सञ्चार माध्यम तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षा प्रभावका क्षेत्रहरूमा यात्रालाई आवश्यक नभएसम्म टार्न र सुरक्षित स्थानमा बस्न समेत सुझाव दिइएको छ ।

प्रतिकृया दिनुहोस्