News Portal

काठमाडौंबाट ६१ किलो सुन तस्करीकी मुख्य आरोपी अमला रोका पक्राउ

जनगर्जन संवाददाता२०८२ आषाढ ६
११३ पटक

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी मुख्य आरोपी अमला रोका पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। रोका लामो समयदेखि फरार थिइन् र उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्यूजन नोटिस समेत जारी गरिएको थियो।

अमला रोका बेल्जियम नागरिक दाबा छिरिङकी पत्नी हुन्, जो यस प्रकरणमा मुछिएका प्रमुख पात्र मानिन्छन्। छिरिङ र रोकाको स्वामित्वमा रहेको ठमेलस्थित होटल भियना पनि अनुसन्धानको दायरामा परेको छ।

गत २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार पास गराएर ल्याइएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि १९ दिनभित्र फाइल थप अनुसन्धानको लागि सीआईबीलाई बुझाइएको थियो।

प्रहरीले रोका पक्राउसँगै सुन तस्करीको सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्