
बेनी,म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गलेश्वर बजारको सौन्दर्यीकरण कार्य तीव्र गतिमा अघि बढाइएको छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र गलेश्वर क्षेत्रलाई व्यवस्थित, मौलिक र आकर्षक बनाउन सडक तथा पदमार्गमा ढुङ्गा बिछ्याउने कार्य सुरु गरिएको हो।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार, गलेश्वर बसपार्कबाट प्रवेशद्वार हुँदै मन्दिर परिसर र राहुघाट नदी किनारसम्मको सडकमा दुई इन्च बाक्लो काटिएको ढुङ्गा सिमेन्टले जमाएर बिछ्याइँदै छ। साथसाथै सडक छेउमा गमला राखी फूलका बिरुवा रोपिने कामसमेत भइरहेको छ।
सञ्चालित योजना अन्तर्गत चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले ६ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले २–२ लाख रुपैयाँ विनियोजन गरेका छन्। कुल लागत रु २४ लाख ३६ हजार ५७१ रहेको यो परियोजनाको निर्माण जिम्मा बेनीको एसएस बिल्डर्सले लिएको हो।
नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालका अनुसार, चालु आवको बजेटबाट गलेश्वर प्रवेशद्वारदेखि मन्दिरसम्मको १०६ मिटर दूरीमा ७,१०० घनमिटर ढुङ्गा बिछ्याइनेछ। साथै, ५३ घनमिटर पर्खाल र २० मिटर नालीको निर्माण सम्पन्न भइसकेको छ।
योजना सम्पन्नपछि सार्वजनिक सवारीसाधनलाई बजारबाहिरको कालीगण्डकी करिडोरमार्फत सञ्चालन गरिनेछ भने निर्माण सामग्री र उपभोग्य वस्तुहरू ढुवानी गर्न विशेष डिजाइनमार्फत अनुमति दिइने वडाध्यक्ष केसीले जानकारी दिए।
गलेश्वर मन्दिर कालीगण्डकी किनारको विशाल चट्टानमाथि अवस्थित छ र हिन्दु धर्म अनुसार यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रि जस्ता अवसरमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुने गर्दछ।
पर्यटक र भक्तजनलाई गलेश्वरमा भित्र्याउने तथा उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले थालिएको यो योजना आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताइएको छ।