
नेपालगञ्ज (बाँके) । हालै बाँके जिल्लाको प्रहरी प्रमुखका रूपमा कार्यभार सम्हालेका प्रहरी उपरीक्षक (एसपी) राम प्रसाद घर्तीले सोमबार नेपालगञ्जमा पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा आयोजित उक्त कार्यक्रममा एसपी घर्तीले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाका प्राथमिकता, प्रहरी सेवामा पारदर्शिता र जनमैत्रीपनाको प्रतिबद्धता व्यक्त गरे। उनले जिल्लामा कानूनको शासन बलियो बनाउने, लागुऔषध र आपराधिक गतिविधिमाथि कडा निगरानी राख्ने तथा सञ्चारकर्मीहरूसँग सहकार्यमा काम गर्ने दृढता दोहोर्याए।
“म खुला ढोका नीतिमा विश्वास गर्छु। सञ्चारकर्मीहरू हाम्रो ऐना हुन्। तपाईंहरूको सुझाव, प्रश्न र आलोचना हाम्रो सुधारको आधार हो,” एसपी घर्तीले भने।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका सम्पादक, पत्रकारहरू र जिल्लाका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। पत्रकारहरूले जिल्लाको समग्र सुरक्षा अवस्था, सूचना आदानप्रदान र प्रेस–प्रहरी सम्बन्ध सुदृढ बनाउने विषयमा धारणा राखेका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। एसपी घर्तीको नेतृत्वले बाँकेमा जनसुरक्षा र सुशासनमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरिएको छ।