News Portal

भारत–पाकिस्तानबीचको तनावप्रति नेपाल सरकारको गहिरो चिन्ता

जनगर्जन संवाददाता२०८२ बैशाख २६
२४ पटक

काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच हालै बढ्दो देखिएको तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। भारतको जम्मु–काश्मीरस्थित पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकको ज्यान गएको घटनापछि दुई देशबीचको सम्बन्ध थप चिसिएको छ।

घटनापछि बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपाल उक्त दुःखद् घटनाबाट गहिरो मर्माहत भएको जनाउँदै भारतसँग ऐक्यबद्धता प्रकट गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस दुःखद् घडीमा नेपाल र भारत साझा पीडामा ऐक्यबद्धताका साथ उभिएका छन्।”

नेपालले आतङ्कवादविरुद्ध आफ्नो सैद्धान्तिक र स्पष्ट अडान पुनः दोहोर्‍याउँदै सो बर्बर आक्रमणको तत्काल र स्पष्ट रूपमा भत्र्सना गरेको छ। “आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै जिम्मेवार पक्षहरूसँग उभिएको छ,” मन्त्रालयले स्पष्ट पारेको छ।

नेपाल सरकारले कुनै पनि शत्रुतापूर्ण कार्यका लागि आफ्नो भूमि प्रयोग हुन नदिने दृढता व्यक्त गर्दै तनाव चाँडै कम हुने आशा गरेको छ। साथै, मन्त्रालयले दक्षिण एशियाली क्षेत्रभित्र दीर्घकालीन शान्ति, स्थायित्व र सहअस्तित्वको पक्षमा नेपाल सदैव प्रतिबद्ध रहेको पुनः पुष्टि गरेको छ।

प्रतिकृया दिनुहोस्