
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।
दुर्घटना बिहान साढे ६ बजे मुनिभैरवअगाडि कोटेश्वर–बानेश्वर सडकखण्डमा भएको हो। कोटेश्वरतर्फबाट बानेश्वरतर्फ गइरहेको बा ३ ख ७०६२ नम्बरको बस, बा.प्र.०१–०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२–०५३ प ३८४७ नम्बरको २२० सिसीको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार नुवाकोट स्थायी घर भएकी नगिना तामाङको मृत्यु भएको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक पदम थापा मगर (रामेछाप) को दाहिने हातमा चोट लागेको छ र ट्रमा सेन्टरमै उनको उपचार भइरहेको छ। यस्तै, भ्यानमा सवार काभ्रेका रत्नबहादुर शार्की र दोलखाकी मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरूको उपचार काठमाडौंस्थित कान्तिपुर अस्पतालमा भइरहेको छ।