News Portal

देशभर तीन मौसमी प्रणाली सक्रिय, चट्याङ्गसहित वर्षाको सम्भावना

जनगर्जन संवाददाता२०८२ बैशाख २३
२८ पटक

काठमाडौँ । हाल देशभर तीनवटा मौसमी प्रणाली सक्रिय रहेका कारण चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको छ। यसको असरस्वरूप कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहितका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहनेछ।

महाशाखाले सबै प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्