News Portal

संयुक्त राजनीतिक दलित संघर्ष समितिले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

जनगर्जन संवाददाता२०८१ फाल्गुण ४
९१ पटक

काठमाडौँ । दलित समुदायमाथि भइरहेको जातीय छुवाछुत र हिंसाको विषयलाई ध्यानाकर्षण गराउँदै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज श्रमिक/दलित समुदाय माथिको अपराधिक घटनाहरुको स्थायी समाधान गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई गृहमन्त्रालय पुगी ज्ञापनपत्र बुझाएको छ ।

संयोजक लोक बहादुर विश्वकर्माको नेतृत्वमा संयुक्त राजनीतिक दलित संघर्ष समितिमा आवद्ध श्रमिक/दलित समुदायका नेतृत्व, अधिकारकर्मी, पत्रकार लगायतको टोली गृहमन्त्री कै कार्यकक्षमा उपस्थिति भएर ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा उल्लेख भएका संघर्ष समितिका मागहरू पूरा गर्न आफुले सक्दो पहल गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरेका छन ।

ज्ञापनपत्रमा अछाम, सर्लाही र रौतहटमा भएको छुट्टाछुट्टै जातीय विभेदका घटनाहरुको विरोध गरिएको छ । घटनाका दोषीहरुलाई कार्वाही एवं पीडितलाई क्षतिपूर्ति र दलित समुदायमाथिको अपराधिक घटनाहरुको स्थायी समाधानका लागि जोडदार माग गरिएको छ ।

जातीय विभेद कै कारण श्रमिक/दलित समुदायहरु भूमि, सम्पत्ति, शिक्षा र समान अवसरबाट वञ्चित बनाउन नहुने माग समेत गरिएको छ । छलफलको क्रममा अन्तरजातीय प्रेम र विवाह कै कारण श्रमिक/दलित समुदायले ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्यका लागि समेत गृहमन्त्रीलाई विशेष ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी श्रमिक/दलित समुदायले इच्छ्याएको थर राखेर आमा र बाबू मध्ये एकजनाको नामबाट नागरिकता प्राप्त गर्न पाउने प्रावधान बनाउन पनि ध्यानाकर्षण गराइएको छ । अन्तरजातीय प्रेम कै कारण ज्यान गुमाएका काभ्रेका अजीत मिजारको लास ७३ सालदेखि टिचिङ हस्पिटल मै रहेकोमा दाहसंस्कारका निम्ति व्यवस्था मिलाउन समेत गृहमन्त्री समक्ष माग गरिएको छ ।
त्यसैगरी सर्लाहीको बरहथवा ४ का सत्येन्द्र राम चमार र बरहथवा ५ की नेहा रौनियारबिच अन्तरजातीय प्रेम विवाह पश्चात् विवाह दर्ता समेत गरिसकेको अवस्थामा सत्येन्द्र विरुद्ध बालविवाह, लागूऔषध देखि मानव बेचविखन सम्मको मुद्दा लगाई गृहमन्त्री रमेश लेखक एवं प्रहरी प्रमुखकै निर्देशनमा फसाउने षड्यन्त्र गरिएको समाचार आएपछि चौतर्फी विरोध भइरहेको छ ।

त्यसैगरी रौतहटको वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानमाथि २०७९ को छठ पर्वमा स्थानीय पसिन्द्र महतो लगायतले गरेको जातीय विभेद तथा छुवाछूत विरुद्ध मुद्दा हालेको भन्दै पुनः २०८१ मंसीर १९ गतेका दिन वृन्दावन स्थित बहुअरी गाउँमा पोखरीको विवाद सृजना गरी राजेश माथि आक्रमण गरी उल्टै राजेशमाथि नै झुट्टा मुद्दा दर्ता गरिएको कुराको समेत विरोध भइरहेको छ । २१ गते साँफेबगर ९ स्थित बुढाकोट माविमा पुजारी चेतराज भट्टले शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियार लगायत अविभावक र श्रमिक समुदायका विद्यार्थीहरुलाई सरस्वती पूजाको टीका पातमा दिई विभेद गरेका थिए ।


प्रतिकृया दिनुहोस्