News Portal

  • पोखरामा पहिरोले घर पुरिदा एकै परिवारका ७ सहित अन्य गरेर ९को मृत्यु २ बेपत्ता

    दिनेश विकल्प२०८१ आषाढ २९
    १५१ पटक

    पोखरा । पोखराको कास्कीमा हिजोको अविरल वर्षाको कारण पहिरो खसेर घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ।

    बिहीबार राति १० बजे तिर पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

    कास्की प्रहरीका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको थियो। मृतक एकै परिवारका रहेको बताएका छन । डिएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो। उनीहरूको शव निकालिसकेको छ।

    छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको शर्माले बताएका छन ।

    त्यस्तै पोखरा-३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।

    यस्तै, मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

    प्रतिकृया दिनुहोस्