News Portal

“सी” जातिको कानुनी मान्यताका लागी २० हजार हस्ताक्षर, मुख्यमन्त्री सोडारीलाई बुझाईयो

धिरज प्रपला२०८१ जेठ ३०
१३८ पटक

धनगढी । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले “सी” जातिलाई कानुनी मान्यता दिन माग गर्दै गरिएको २० हजार हस्ताक्षर सहित ज्ञापन पत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री दिर्घ सोडारीलाई बुझाएको छ ।

बुधबार युवा संगठन नेपालका सुदूरपश्चिम प्रदेश संयोजक सुशील सी को नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री दिर्घ सोडारीलाई २० हजार हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रिय योजना अनुसार जेष्ठ १५ गते देखि १८ गतेसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा गरिएको हस्ताक्षर अभियानबाट संकलित २० हजार हस्ताक्षर सहित ज्ञापनपत्र मुख्य मन्त्री सोडारीलाई बुझाएको युवा संगठन नेपालका सुदूरपश्चिम प्रदेश संयोजक सुशील सीले जानकारी गराए।

युवा संगठन नेपालले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री सोडारीले जातिय व्यवस्था उन्मुलन गरी कानुनी मान्यता सहित सी जातिको निर्माण गर्ने विचार कम्युनिस्ट साम्यवादी विचार भएको बताए । उनले, सी जातिको नयाँ संस्कृति सहित नेकपा लगाएत युवा पिढीले अभियानको रुपमा अघि सारेको हताक्षरलाई सम्बन्धीत निकाय सम्म पु¥याउने प्रतिबद्धता जाहेर गरे ।

मुख्य मन्त्री सोडारीलाई बुझाईएको ज्ञापन पत्रमा नेपाली युवाहरुको जुझारु एवम् गौरवशाली संगठन, युवा संगठन नेपालको पाचौं केन्द्रीय समितिको दोश्रो पूर्ण वैठकको महत्वपूर्ण निर्णय अनुसार जेठ १५–१८ गते सम्म सी जातिलाई कानुनी मान्यता दिन देशैभरी हस्ताक्षर अभियान संचालन गरेको उल्लेख गर्दै देशैभरी नागरिकहरु उत्साहका साथ हस्ताक्षर अभियानमा सहभागी भएको उल्लेख गरिएको छ ।

संगठनको योजना अनुसार सात वटै प्रदेशका माननीय मुख्यमन्त्री र सम्माननीय प्रधानमन्त्रीलाई हस्ताक्षर सहित संगठनले ज्ञापनपत्र वुझाउने कार्यक्रम अनुसार नागरिकहरुको हस्ताक्षर र संगठनको ज्ञापनपत्र सहित उपस्थित भएको विषय उल्लेख गरिएको छ । विश्व र नेपालमा वर्णभेद, रंगभेद र जातिभेदले अमानवीय कार्यहरु दिन प्रतिदिन बढिरहेको उल्लेख गदै एक मानवले अर्को मानवलाई शोषण गर्नका लागि जाति बनाई घिणृत, कलङिकत र अमानवीय कार्य भइरहदा कम्युनिस्ट युवाहरुलाई सहनिय कार्य हुन नसक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मानव जाति एउटै जाति हो भन्नेमा समान बुझाई र मान्यता स्थापित गर्नु राज्य र सरकारको कर्तव्य भएकाले सम्पूर्ण उत्पीडनका जंजिरहरुलाई भत्काएर मानव जातिलाई पृथ्वीमा सुन्दर सपना सहित, समान रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राजनैतिक चेत भएका भौतिकवादी हरुको कर्तव्य भएको उल्लेख गरिएको छ । त्यसैगरी सी जाति समान–साम्य जाति र सभ्यताको जाती भएकाले एक मानवले अर्को मानवलाई गर्ने शोषणको अन्त्य गर्न सी जातीलाई कानुनी मान्यता दिनु पर्ने उल्लेख गरिएको छ ।

नेपालमा भइरहेका जातिय उत्पीडनहरुको समाधान सी जातिबाट मात्र सम्भव हुने भएकाले सी जातिलाई कानुनी मान्यता दिन दुई वटा बुंदालाई ध्यान दिई आवश्यक काम अगाडि बढाउन सरकारसँग माग गरिएको छ । नेपालको संविधानको धारा १२ ले बंशीय आधार तथा लैङगीक पहिचान सहितको नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यस धारामा “व्यक्तिले इच्छाएको थर” राख्न सक्नेछ भन्ने व्यवस्था राखि संसोधन गरियोस ।

त्यसैगरी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशका ईन्चार्ज सुशील सीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा नेपालको संविधानको धारा १३ ले “नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धि अन्य ब्यवस्था संघीय कानुन बमोजिम हुनेछ“ भन्ने व्यवस्था गरेको उल्लेख गदै सोही धारा वमोजिम नेपालको नागरिकता ऐन २०६३ को दफा ८ (क) मा “आमा वा बाबुको थर र ठेगाना मध्ये निजले रोजेको थर ठेगाना राख्न पाउनेछ” भन्ने व्यवस्थालाई संसोधन गरि “आमा वा बाबू वा निजले सामाजिक रुपमा मानिसहरुको बिचमा समानता कायम गर्ने उद्दश्यले इच्छाएको थर वा कुनै अक्षर राख्न पाउनेछ” भन्ने कानुनी व्यवस्था गरियोस् भन्ने माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्