काठमाडौं महानगरपालिका वडा नम्बर १४ शिवनगर निवासी बिष्णु गिरीका माइलो भाइ दाङ तुल्सिपुर उपमहानगर पालिका १७ मानपुर निवासी कालू गिरीको श्रीमती बर्ष ५५ कि केशरी गिरीको पाटन अस्पतालमा उपचार कै क्रममा दु:खद निधन भएको भयो । अल्पआयुमा भएको निधनले हामी सबैलाई दुखित तुल्याएको छ। उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली साथै परिवार जनमा समवेदना व्यक्त गर्दछु । उहाँको अन्त्यष्टि पशुपति आर्यघाटको विद्युत शवदाह गृहमा गरिएको छ ।
गिरीहरुको परम्परा अनुसार कुनै पनि घरको सदस्यको मृत्यु भएमा उसको अन्तिम दाह संस्कार आफ्नै जमिनमा गरिनुपर्छ । आफ्नो जमिन छैन भने समुदायको सामुहिक जमिनमा अन्तिम दाह संस्कार गरिन्छ । अन्तिम दाह संस्कार वा बिदाइ गर्दा चाकलमाडे बसालेर पुर्णरुपले जोगी बनाइ कमन्डलुको साथमा नुनले पुरेर अन्तमा माटोले पुर्ने गरिन्छ । बाकी काजक्रिया पनि आफ्नै जातिको बाहुन राखेर गरेको देखिएको थियो । कतिपय ठाउँमा ब्राह्ममण संस्कृति अनुसार काज क्रिया गर्ने गरेको पनि देखिएको छ।
हाल पशुपति आर्यघाटमा दुई किसिमका शवदाह गृह छन । एउटा परम्परागत दाउराले पोलेर बिसर्जन गर्ने र अर्को आधुनिक विद्युत शवदाह गृह भित्र पोलेर बिसर्जन गर्ने । यी दुबै तरिका सन्यासीको परम्परासंग मेल खाने स्थान होइनन । काठमाडौंमा सन्यासीको लागि भनेर छुट्टै जमिन सरकारले उपलब्ध पनि गराएको छैन । अन्यत्रबाट बसाइँसराइ गरि काठमाडौंमा आएका सन्यासीहरुको छुट्टै जमिन किनेर सामुदायिक बनाउने हैसियत पनि छैन ।
यो अवस्थामा बाहिरबाट काठमाडौंमा उपचार गर्न ल्याउदा मृत्यु भएका ब्यक्तिहरुलाइ मृत्यु पश्चात पुनः आफ्नै घर फर्काउन पनि खर्चिलो र झन्जटिलो मात्र हुन जाने देखियो । त्यसकारण ज्योति गिरीबाट शुरु भएको जलाउने संस्कार हालसम्म ५ जनालाई विद्युत शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । एकातिर दाउराले पोल्ने परम्पराबाट मानिसहरू माथि उठ्न सकिरहेका छैनन भने अर्कोतिर गाड्ने परम्पराबाट विद्युत शवदाह गृहमा पोल्न पुगेका छन । यो परिस्थितिले सृजना गरेको बाध्यकारी अवस्था हो । दोस्रोमा हाम्रा पुर्खाहरु दुरदर्शि बन्न नसकेको प्रमाण पनि हो ।
मृत्यु पछि गरिने काजक्रियाले मृतकलाइ स्वर्गमा पुर्याउने बिश्वास गरिन्छ । बिश्वास त जेमा गरेपनी भयो । वास्तविक तथ्यमा भने बिश्वासले काम गरेको हुदैन । संस्कृतिले समुदायको पहिचान भने बोकेको हुन्छ । तर त्यही पहिचान नै बिकासको बाधक बनेको उदाहरण धेरै छन ।त्यसैले एकातिर पहिचानको लागि परम्परागत संस्कृतिको बचाउ गर्नुपर्ने अर्कोतिर बिश्वले गरिरहेको बिकाससंग प्रतिस्पर्धा पनि गर्नुपर्ने दोधारमा हाम्रो समाज चलिरहेको छ । त्यसैले उठ्न खोज्दाखोज्दै पनि उठ्न नसकिरहेको दृष्टान्त धेरै भेटिन्छ । कतिपय ठाउँमा बाध्यताले काम गरेको छ भने कतिपय ठाउँमा इच्छाले काम गरेकोछ।
अहिले हामीसंग परम्परा थाम्नको लागि बुबा आमाको अन्तिम संस्कार अन्तर्गत काजक्रियामा लाग्ने कि आफ्नो भबिश्यको लागि अर्को बाटो अपनाउने भन्ने पेचिलो बिषय बनेकोछ। देशमा रोजगारी छैन ।भएको रोजगारीले अति आवश्यक खर्चको अनुपात धान्दैन । यहि पिडाको बिचमा महँगो खर्च लगाएर तयार गरेको बिदेशी भिसा र टिकट क्यान्सिल गर्न नसकी आमा बुबा मध्य जसको काजकिरिया भए पनि थाती राखेर आफ्नो भबिश्यको लागि मुटुमा गाठो पारेर अगाडि बढ्नु नेपाली युवाहरूको दिनचर्या जस्तै बनेको छ। यहि कुरा साधारण अवस्थामा गाउँमा बसेर कलास लिन थाल्ने हो भने स्विकार्य हुदैन । समाजले धर्म नासक, अराजक, समाज भडुवा आदि उपमा दिएर त्यो ठाउँबाट लखेट्ने प्रयास गर्छ ।
माथिका सबै बिकृतिहरुको ठिक समयमा मुल्यांकन गरि नेपाल कम्युनिस्ट पार्टीको नवौं अधिबेशनले छुट्टै जाति र छुट्टै संस्कृतिको बिकास गरेको छ। जस अनुसार जातीय विभेद अन्त्यको लागि सबैले सी जाति लेख्ने र पुरानो इतिहास सबै बिर्सने भन्ने थियो । त्यस्तै सी संस्कृति अनुसार जन्म, बिबाह मृत्यु सबैमा नयाँ संस्कारको बिकास गर्ने उदेश्य सहित योजना पास गरेको थियो । जस अनुसार आफ्नो पार्टीको सम्पर्कमा रहेका परिवारहरुको बिचमा मनाउदै पनि आएको छ। जन्म दिनमा खुशियाली मनाउने, बिवाहामा देखाउने तडकभडक हटाउने, मृत्यु संस्कार ५ दिनसम्म विभिन्न कार्यक्रम गरेर मृतकको योगदानको सम्झना गर्दै मनाउने आदि रहेका छन ।
क सृजन सी
केन्द्रीय प्रतिनिधि समिति सदस्य
नेपाल कम्युनिस्ट पार्टी
मिति २७ बैशाख २०८१