News Portal

  • यसवर्ष ढोरपाटनमा आठ नाउर र पाँच झारलको शिकार गर्न अनुमति

    जनगर्जन संवाददाता
    १४७ पटक

    बिहिबार, असोज २७ २०७९

    बागलुङ/नेपालको एक मात्र वैधानिक शिकार आरक्ष क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार पर्यटन याम सुरु भएको छ । जंगली जनावर नाउर र झारलको शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् ।

    असोजको अन्तिम सातादेखी सुरु हुने शिकारका लागि शिकारीहरु आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ब्लकमा पठाईसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकार यामका लागि ८ नाउर र ५ वटा झारलको शिकार अनुमति दिएको छ ।

    असोज अन्तिम सातादेखी मंसिरसम्म शिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको शिकार गर्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, ग्लोवल सफारिज नेपाल, हिमालयन सफारिज र टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत अमेरीकन, मेक्सिकन र क्यानेडियन नागरिकले शिकारका लागि अनुमती पाएका छन् ।
    शिकार आरक्ष क्षेत्रलाई ७ वटा व्लकमा विभाजन गरिएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गतवर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो ।

    आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, र सुनदह गरी ६ ‘ब्लक’मा शिकार गर्न अनुमति दिईएको छ । पहिलो यामका लागि सुर्तिबाङ व्लकमा कुनैपनि शिकारीले शिकार गर्ने छैनन् । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्ने गरेको शिकार आरक्ष कार्यालयको अनुभव छ । शिकारी सहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन ।
    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर झारलको मुल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिब २० देखि २२ लाख रुपैयाँ खर्च गर्ने शिकार पर्यटन व्यवसायी बताउँछन् ।

    यो वर्ष नाउरको न्युनतम १५ लाखदेखी अधिकतम २१ लाख ४० हजार प्रतिगोटा र झारलको न्युनतम एक लाख १० हजारदेखी अधिकतम ६ लाखसम्म राजश्व तिरेर शिकारीहरु शिकारका लागि तयार भएको कँडेलले बताए । नेपाल ट्राभल एक्पिडिसन प्रा.लि काठमाण्डौंमार्फत पहिलो याममा अमेरिकन नागरिकले एउटा नाउरको शिकार गर्नेछन् । शिकार आरक्ष कार्यालयका अनुसार उनलाई शिकारका लागि गुस्तुङ ब्लक तोकिएको छ ।

    ग्लोबल सफारिज नेपालमार्फत तीन जना शिकारीले दुई नाउर र एक झारलको शिकार अनुमति पाएका छन् । क्यानेडियन नागरिकले नाउर र आर्का दुई जना अमेरिकी नागरिकले एक नाउर र एक झारलको शिकार अनुमती यो कम्पनीमार्फत पाएका हुन् । फागुनेमा एक नाउर र बार्षेमा एक नाउर एक झारलको शिकार गर्न उनीहरुले अनुमती पाएका हुन् ।

    शिकारीहरुले हिमालयन सफारिजमार्फत तीन नाउर र दुई झारलको शिकार अनुमती पाएका छन् । उनीहरु मेक्सिकन र अमेरीकन नागरिक हुन् । दोगडी, सुनदह र सेङ व्लकमा उनीहरुलाई शिकारका लागि अनुमती दिईएको छ । टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत दुई जना अमेरीकन नागरिकले दुई नाउर र दुई झारलको शिकार अनुमती पाएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।

    ‘यो वर्षदेखी नेपालीका लागि समेत शिकारको अबसर हुनेगरी बँदेलको शिकार खुल्ला गरिएको थियो तर अहिले प्राप्त जानकारी अनुसार कसैलाई पनि अनुमती दिईएको छैन्’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने ‘केही आवेदन परेको जानकारी आएको थियो, थप प्रक्रियाको विषयमा विभागले जानकारी गराउने छ ।’ शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रतिष्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ ।

    प्रतिकृया दिनुहोस्