News Portal

  • लगातारको वर्षा पछि मुस्ताङ सडक खुल्यो, म्याग्दीको काभ्रेभिर भने खुल्न अझै बाकी

    जनगर्जन संवाददाता
    २१३ पटक

    बागलुङ, २४ असोज – दसैंअघिको अविरल वर्षाले अवरुद्ध मुस्ताङ सडक खुलेको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमि अवरुद्ध सडकमध्ये म्याग्दीको काभ्रेभीर सडक मात्र मर्मत गर्न बाँकी रहेको जनाइएको छ।

    दसैं अघिदेखिको अविरल वर्षाको कारणले मुस्ताङको खन्ती, मार्फा, पान्डा खोला, एक्लेभट्टी,मुक्तिनाथ जाने सडक र कागबेनी–छुसाङ अवरुद्ध भएको थियो। घारझोङको मार्फामा फाराम खोलाले धार परिवर्तन गर्दा मुख्य सडकमै खोला डाइभर्सन भएको थियो।

    मार्फामा जिल्ला विपद् व्यवस्थापन, सुरक्षा निकाय, घारपझोङ गाउँपालिका र स्थानीयवासीको पहलमा दुई वटा डोजर परिचालन गरी ६० घण्टापछि मार्फा अवरुद्ध सडक सहज पारिएको हो। यस्तै, जोमसोम–मुक्तिनाथ सडक र कागबेनी–छुसाङ सडक पनि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सक्रियतामा अवरुद्ध सडक सहज बनाइएको छ ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अविरल वर्षाले अवरुद्ध मुस्ताङ सडक सहज भएको जानकारी दिनुभयो ।

    यस्तै, राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार वर्षाले अवरुद्ध म्याग्दीको घुमाउने ताल, बैसरी, बेगखोला, तातोपानी, लाटो खोला, रुप्सेलगायतका स्थानको सडक मर्मत गरी सहज भइसकेको जानकारी दिनुभयो ।

    अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा सर्वसाधारणले सास्ती पाएका थिए। दसैं बिदामा मुस्ताङ घुम्न आउने पर्यटक सडककै कारण आउन सकेका थिएनन्। सडक खुलेपछि पर्यटक आवागमन वृद्धि हुने सुपरभाइजर शेरचनले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्