जनगर्जन संवाददाता
काठमाडौं । फरार आरोपी पक्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सास्ती भोग्नुपरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट पक्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चोरी मुद्दाका फरार आरोपी हुन् ।
प्रहरीको टिमले आफुलाई पक्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भागे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आरोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आरोपी रुखमा चढेर भने–‘पक्राउ गर्ने भए हामफालेर मर्छु ।’
गत माघ १ मा नयाँबाटी स्थित राजकुमार क्षेत्रीको घर फोडेर सुकलालले टिभी, घडी, मोवाइल र नगदसहित करिब ५ लाखको सामान चोरेका थिए । राती मान्छे नभएको मौकामा उनले क्षेत्रीको घर फोडेको मुद्दामा बौद्ध प्रहरीले उनलाई खोजिरहेको थियो । यसअघि पनि जेल बसेर निस्केका सुकलाल महानगरीय प्रहरी वृत्त बौद्धमा दर्ता भएका दुईवटा चोरी मुद्दाका फरार आरोपी हुन् ।