News Portal

  • छुट्न थाले बागलुङ बसपार्कबाट लामो दुरीका बस

    दिनेश विकल्प२०८१ भाद्र ३१
    ७४ पटक

    बागलुङ। उपल्लाचौर स्थित नयाँ बागलुङ बसपार्क नियमित रुपमा संचालनमा आएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरमा निर्माण गरिएको बसपार्कमा पहिलोपटक धौलागिरी गण्डकी यातायात सेवा प्रालिले सेवा सुरु गरेको हो ।

    गत सोमबार साँझदेखि बागलुङबाट काठमाडौंसम्म र बागलुङदेखि वीरगन्जसम्म ४६ सिटे बसहरु चल्न सुरु गरेका छन ।

    बागलुङ नगरपालिकासँग बस व्यावसायिहरुले सम्झौता गरेपछि दैनिक ३ वटा बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष उमेश केसीले बताएका छन ।

    गत भदौ २४ गते धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष केसी र बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलबीच बसपार्क एक वर्षका लागि चलाउन रु १२ लाख ४३ हजारमा सम्झौता भएको थियो ।

    बागलुङ नगरपालिका–४ उपल्लाचौरको नयाँ बागलुङ बसपार्क र बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको गरेर एकमुष्ट सम्झौता गरिएको पनि स्रोतले जनाएको छ ।

    जग्गा व्यवस्थापन भएको २३ वर्षपछि निर्माण भएको आधुनिक बसपार्कमा दिगो रुपमा नियमित बस सञ्चालनको लागि बस व्यवसायी समितिसँग सम्झौता गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताएका छन ।यातायात सेवालाई व्यवस्थित गर्न हामीले नगरपालिका, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको सहकार्यमा बस चलाउन थालेको उनको भनाइ छ ।

    बसपार्कबाट बस, मिनि बस र माइक्रो बस निरन्तर रुपमा सञ्चालन गर्न यातायात प्रालिले प्रक्रिया अगाडि बढाएको छ

    विसं २०५८ सालमा नगरपालिकालाई दिएको जग्गामा बसपार्क बनेको छ भने घडेरी फिर्ताको काम बाँकी नै रहेको छ ।

    पहुँचमार्ग विस्तारपछि बागलुङ बसपार्क सञ्चालनका लागि भदौ १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

    बसपार्कमा ७० बस, एक सय कार एकैपटक पार्किङ गर्न सक्ने सुविधा रहेको छ । बसपार्कमा २० वटा व्यापारिक सटर समेत रहेका छन् ।

    बसपार्कमा सुविधा सम्पन्न टिकटकक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ

    प्रतिकृया दिनुहोस्