काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस (कमल) भुसाल आज रिहा भएका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको थियो भने सोमबार नै कास्की ल्याइएको थियो ।
सोमबार नै उनको रिहाइका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । तर, अदालतले अनुमति भने दिएन । अदालतको अनुमति नपाए पनि जिल्ला प्रहरी कार्यालयले बाहिरबाटै अनुसन्धान गर्नेगरी उनलाई छाडेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएको थियो । त्यसपछि गृहमन्त्री रमेश लेखकले नै फोटो बाहिरिएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए ।
फोटोलाई लिएर व्यापक चर्चा भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए । लगत्तै कास्की प्रहरीले एक विज्ञप्तिमार्फत भुसालले नै फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने र उनले साइबर कानुनको उल्लंघन गरेको बताएको थियो ।