News Portal

  • अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गरिदै धनगढीमा

    जनगर्जन संवाददाता२०८१ मंसिर १९
    २७ पटक

    धनगढी । धनगढी उपमहानगरपालिकाले खोलानाला र अतिक्रमण गरेका सार्वजनिक जग्गा खाली गर्ने अभियान सुरु गरेको छ । अतिक्रमण गरिएको सार्वजनिक जग्गा पहिलो चरणमा धनगढी-५ को सुकुटी नालाबाट हटाउन सुरू भएको छ । अहिलेसम्म खोलानालाको करिब ५ किलोमिटर क्षेत्रको अतिक्रमण हटाएको महानगरपालिकाले जनाएको छ। डिभिजनल इन्जिनियर दिजराज भट्टले वडा नम्बर २, ३, ४ र ५ मा अहिलेसम्म खोलानाला अतिक्रमण हटाउने काम सुरु भएको बताएका छन । उनले यो अभियान यी वडामा अझै चल्ने बताएका छन्।

    यसैबीच उपमहानगरले २०८१ मंसिर १९ गते बुधवारदेखि धनगढी-१ र ५ भएर बग्ने सुकुटी नालामा पिलर गाडेर डिजिपिएस राख्ने काम सुरू भएको भूमी शाखा प्रमुख नरेन्द्र भट्टले बताए। उनले यो पटक नालाको सिमाङ्कन गर्न खोलानालाको सिमाना प्रष्ट हुने गरि पिल्लर गाडी सो बिन्दुहरूको जिआइएस नक्साङ्कन गर्ने र डिजिपिएस र स्याट्लाइट तस्विर प्रयोग गरी खोलाको सिमाङ्कन निगरानी गरिने जानकारी दिएका छन।

    धनगढी उपमहानगरपालिकाले खोलानालाको क्षेत्राधिकार र सार्वजनिक जग्गालाई जुनसुकै हालतमा पनि खाली गरिने बताउँदै आएको छ। जसअनुसार नक्साङ्कन गर्ने, सो को प्रतिवेदन तयार गर्ने र अतिक्रमण खाली गर्न सार्वजनिक सूचना गर्दै आएको छ।अतिक्रमण गर्ने व्यक्ति र संस्थालाई सार्वजनिक क्षेत्र खाली गर्न सूचना र जानकारी गराउँदै आएको छ।

    एकै व्यक्तिलाई अतिक्रमण खाली गर्न उपमहानगरपालिकाले आधा दर्जन पटक सूचना दिने काम गर्दै आएको छ। यसरी पटकपटक सूचना गर्दा पनि अतिक्रमण हटाउन अटेरी गरे डोजर चलाएर अतिक्रमण हटाउने गरेको उपमहानगरले जनाएको छ। जसको एक उदाहरण धनगढी-४ को ठाकुर एग्रो इन्डष्ट्री हो।

    धनगढी-४ भगवती टोलमा अवस्थित ठाकुर एग्रोले सार्वजनिक नाला मिचेको प्रतिवेदन २०८० असोज ७ गते तयार भएको छ। नापजाँचका क्रममा ठाकुर एग्रोले नाला अतिक्रमण गरेको पत्ता लागेको हो।

    प्रतिवेदन तयार भएपछि धनगढी उपमहानगरपालिकाले ठाकुर एग्रोका सञ्चालकलाई २०८१ असोज ८ गते अतिक्रमण हटाउन पत्राचार गरेको छ। पत्रमा उपमहानगरले असोज मसान्तभित्र भौतिक संरचाना हटाएर सहयोग गर्न आग्रह गरेको थियो।

    उपमहानगरले दिएको समयभित्र अतिक्रमित नाला खाली नगरेको एग्रोलाई २०८१ साउन ३० गते भौतिक संरचना हटाउन दोस्रो पटक पत्राचार गरिएको थियो । सो पत्रको पनि अवज्ञा गरेपछि उपमहानगरले तेस्रो पटक २०८१ असोज ४ गते २४ घण्टा भित्र नाला खाली गर्न पत्र पठाएको थियो ।

    २०८१ असोज ९ गते ठाकुर एग्रोका सञ्चालक हरिशंकर ठाकुर स्वयंले घरायसी समस्या देखाउँदै २०८१ कात्तिक २४ भित्र भौतिक संरचना हटाउन कबुलियतनामा गरेका छन्। तर, आफैले गरेको कागजअनुसार ठाकुरले कात्तिक २४ भित्र संरचना नहटाएपछि उपमहानगरपालिका २०८१ मंसिर २ गते २४ घण्टा भित्र संरचना हटाउन ठाकुर एग्रोलाई २४ घण्टाको समय दिइएको तर यो समयमा पनि अतिक्रमण नहटाइएपछि डोजर लगाएर अतिक्रमण खाली गरिएको उपमहानगरले जनाएको छ।

    उपमहानगरले पटक-पटक दिएको सूचनाको अवज्ञा गरिएपछि ठाकुर एग्रोमा मंसिर १० गते डोजर लगाएर अतिक्रमण हटाइएको हो।
    ठाकुर एग्रोमा उपमहानगरको टोली २०८० भदौ १८ गते अतिक्रमण हटाउन पहिलो पटक पुगेको थियो। त्यसबेला मौखिक सहमतिमा अतिक्रमण खाली गर्न समय उपलब्ध गराएको उपमहानगरले जनाएको छ। सिमाङ्कन र नक्साङ्कन गरिएको क्षेत्रमा उपमहानगरले जुनसुकै अवस्थामा पनि अतिक्रमण हटाउने बताएको छ।

    प्रतिकृया दिनुहोस्