News Portal

  • एक लाख मानिस उतार्ने एमालेको दाबी, सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

    जनगर्जन संवाददाता२०८१ मंसिर ७
    ५३ पटक

    काठमाडौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज सडकमा आफ्नो पार्टीको शक्ति प्रदर्शन गर्दैछ । एमालेले आज काठमाडौंमा ‘जागरण सभा’ गर्न लागेको हो । जागरण सभा दरबारमार्गमा हुनेछ । 

    भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।

    काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभामा १ लाख नेता कार्यकर्ता उतार्ने दाबी एमालेको छ ।

    जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले अराजकताविरुद्ध र स्थिरताको पक्षमा जनमत निर्माणका लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।

    मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको उनले बताए ।

    जुलुस बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू भएर साढे १२ बजे दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने एमालेले जनाएको छ । 

    ‘अहिले देशलाई अराजकताले गाँजेको छ । अदालत मान्दिनँ, प्रहरी र सेना मान्दिनँ, बैंकको ऋण तिर्दिनँ भनेर समाजमा अराजकता फैलाउने र नागरिकमा निराशा बढाउने समूह हावी हुँदै जान थालेको छ,’ ढुंगेलले लोकान्तरसँग भने, ‘तर, देशमा जिम्मेवार दल छन् । सबैथोक बिग्रेजसरी निराश हुने स्थिति छैन । समस्या नआओस् भनेर ठूला दल मिलेर सरकार बनाएका छन् । सत्तारुढ दलको आवाज परिवर्तनको पक्षमा भनेर सभामार्फत सन्देश दिन खोजेका हौं ।’ 

    एमालेको जागरण सभाको प्रमुख वक्ता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नै हुने भएका छन् । जागरण सभा संयोजन समितिका सदस्य कैलाश ढुंगेलले प्रदर्शनपछि दरबारमार्गमा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी दिए । 

    ‘काठमाडौंमा प्रदर्शनपछि दरबारमार्गमा संक्षिप्त सभा हुनेछ,’ ढुंगेलले लोकान्तरसँग भने, ‘सभामा धेरै वक्ता हुँदैनन्, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल वक्ता हुनुहुन्छ ।’
    अघिल्लो वर्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ मा काठमाडौंमा प्रदर्शन गरेको थियो । यसपटक फेरि पनि ७ गते नै यो अभियानले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्