कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरु अब चाडै नै एकताको टुंगोमा पुग्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा व्यक्त गरेका हुन् ।
हामी सबै एउटै स्कुलिङबाट आएका हौ, अहिले विभिन्न भंगालोमा रहेका हामी अब एकताबद्ध हुनु जरुरी छ भन्दै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताएका छन । आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु नजिक आईसकेको बताएका छन ।
अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताएका छन । आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरेको भन्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताएका छन ।
उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए ।
कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।
त्यसै गरि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन् ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए। उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताएका छन ।