News Portal

  • किन छुपु –छुपु रोप्दैछन धान ? नेकपाका प्रवक्ता प्रकाण्ड सी

    वसन्त वि. क.२०८१ साउन ८
    २८५ पटक

    २०८१ साल साउन ८ गते विहिवार विहान ११ बजेको थियो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी धान रोप्न आउने चर्चा थियो । चारैतिर नेकपाका नेता तथा कार्यकर्ताहरु बाँकेको खजुरा स्थित मनकामना चोकमा धान रोप्ने तयारी गर्दै थिए । एक्कासी ! नेकपाका प्रवक्ता प्रकाण्ड सी मनकामना चोकमा पुगे । उनी नेकपाका नेता मात्र होईन पूर्वमन्त्री पनि हुन । उनको साथमा सुरक्षाकर्मीको गाडी पनि पुग्यो । त्यहाँ कुनै भव्य राजनीतिक कार्यक्रम थिएन । भाषण गर्नु पनि थिईन । सायद ! नेता आउने भन्दा वित्तिकै जनताले नेताहरुले भाषण मात्र गर्ने हुन भन्ने बुझाई हुन्थ्यो । त्यहाँ जम्मा भएका केही जनताको बुझाई पनि त्यस्तै थियो । तर त्यहाँ भने फरक तयारी थियो । कुनै मञ्चमा भाषण गर्न मनकामना चोकमा प्रवक्ता प्रकाण्ड सी पुगेका थिएनन् । त्यहाँ त हिलोमा डुबेर धान रोप्नु थियो । त्यही कार्यक्रमका लागि उनी त्यहाँ पुगेका थिए ।


    धेरै स्थानीय जनता अच्चमित थिए ! यत्तिका ठुलो राष्ट्रिय नेताले कसरी धान रोप्न सक्छन होला ? किन रोप्छन होला ? अहँ ! यो होईन होला । तर स्थानीयले गरेको अनुमान सहि भएन । प्रवक्ता प्रकाण्ड मनकामना चोकको धान रोप्ने खेतमै पुगे । उनलाई हतार– हतार स्थानीय जनता र पार्टी नेता कार्यकर्ताले खेतमै स्वागत गरे । स्वागतमा पनि कुनै फुलको माला थिएन । धानको विउका टुप्पाहरुको माला थियो । त्यही धान रोप्नु थियो । उनी स्वागतपछि तुरुन्त हिलो बनाएको खेततिर लागे । उता नेपाल कम्युनिष्ट पार्टीको हसियाँ हतौडा अंकित रातो झण्डा खेतमा फरफराईरहेको थियो । त्यसले बैज्ञानिक समाजवादका लागि उत्पादन क्रान्तिको नारा दिईरहेको थियो । सुन्दर नेपाल,आत्मनिर्भर नेपालका लागि उत्पादन भनिरहेको थियो । त्यहाँ निकै आनन्द आइरहेको थियो । कोहीले विउ निकालिरहेका थिए भने कोहीले आली बनाईरहेका थिए । धरै जसो नेता कार्र्यकर्ताहरु हातमा विउ लिएर रोप्ने तयारीमा जाँदै थिए ।


    दर्जनौ नेता कार्यकर्ता र जनताको साथमा प्रवक्ता प्रकाण्ड हिलो बनाईएको धान रोप्ने खेतमा पुगे । जुत्ता खोल्दै रोप्ने खेतमा खुट्टा हाले । धान रोप्ने कार्यक्रमको उद्घाटन ब्यानर खेतको आलीमा गाडिएको थियो । वरिपरी नेकपाका केन्द्रीय नेताहरु स्थायी समिति सदस्य सुशिल सी ,विपिएम आधार सी, रक्तिम सी, केन्द्रीय सदस्यहरु विराट,विवेक हिमशिखर,दिनेश सी लगायतका नेताहरु धान रोप्न तयारी भएर लागे । सवैले एकै साथ धानको विउ हातमा लिएर हिलोमा गाडे । सबैले भन्दै थिए ‘यो धान मात्र रोपेको होईन समाजवाद रोपेको हो ।’ अनि प्रवक्ता प्रकाण्डले पनि धानको विउ हातमा लिएर हिलोमा गाड्े । उनले पनि भने ‘यो समाजवाद हो’ उनी छुपु –छुपु धान रोप्न व्यस्त भए ।
    प्रवक्ता प्रकाण्डले धान रोप्दै गर्दा सबै अच्चमित थिए । उता सुरक्षाकर्मीहरु भित्र –भित्रै तारिफ गरिएरहेका थिए । उनीहरुले मुखमुखै गरिरहका थिए र भनिरहका थिए ‘नेता भनेको यस्तो हुनुपर्छ , नेपालका सबै नेताहरु यस्तो भएको भए हाम्रो देश गरिब हुने थिएन । धेरै युवाहरु विदेशीनु पर्ने थिए ।’

    नेकपाका प्रवक्ता प्रकाण्ड निरन्तर रोपिरहेका थिए । उनको रोपाईमा कुनै थकित मुहार थिएन । उनी नेता कार्यकर्तासंग हाँस्दै, रमाउदै र ठट्टा गर्दै छुप –छुप धान रोपिरहेका थिए । स्थायी समिति सदस्य सुशिल सीले साथ दिईरहेका थिए । बाँकेका डिसिएस कल्पना लगायतका महिला सदस्यहरुले पनि साथ दिइरहेकी थिईन । प्रवक्ता प्रकाण्डको हात महिला रोपाह भन्दा कम थिएन । उनले जोशिलो पाराले छुपु –छुपु रोपिरहेका थिए । उनको रोपाईले सहभागी सबैमा निकै उर्जा भरिरहेको थियो ।

    स्थानीय जनताहरुले भने प्रवक्ता प्रकाण्डको यो गतिविधिलाई निकै नियालिरहेका थिए । स्थानीय जनताले एक आपसमा कुरा गर्दै भनिरहेका थिए, ‘वास्तवमा जनताको जननेता यस्तो हुनुपर्छ , श्रम र उत्पादनको काममा लाग्ने नेता चाहिन्छ , अरु पार्टीका नेताहरु भने कुर्सीको लागि लडिरहेका छन, भ्रष्टाचार गरेर खाईरहेका छन, तर नेकपाका नेताहरु रोपाईमा लागिरहेका छन ,यो हामी जनताको लागि खुसीको विषय हो । यसलाई सबैले साथ दिनु पर्छ ।’

    प्रवक्ता प्रकाण्ड सी यतिवेला स्वास्थ्य समस्याबाट पनि पीडित छन । उनी लामो समय देखि ढाडको दुखाईले आराममा थिए । तर पनि उनमा क्रान्तिको काम र उत्पादनको काममा हुट्हुटी छ । उनी त्यही हुटहुटी बोकेर काठमाडौबाट वाढी पहिरोको कुनै प्रवाह नगरी रोपाईमा सहभागी हुन आएका हुन । उनले धान रोपाईको उद्घाटनमा चुनौती दिदै भने, ‘प्रतिक्रियावादी दलाल सत्ताले युवाहरुलाई विदेश पठाउने काम गरेको छ, निरासा बनाएको छ, हाम्रो पार्टी प्रतिवाद गर्छ,आत्मनिर्भर अर्थतन्त्रका लागि र समाजवादी क्रान्ति पुरा गर्नका लागि उत्पादनमा लागिरहेको छ ।’
    उनले नेपालका नौ जवान युवाहरुलाई नेपालमै उत्पादनको काममा लगाएर देशलाई आत्मनिर्भर हुने बाटो नेकपाले खोज्ने विश्वास दिलाए । उनले भनेका थिए, ‘हामी वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादले देशलाई आत्मनिर्भर बनाउन चाहान्छौ, देशलाई नेतृत्व गर्र्न चाहान्छौ , दलाल व्यवस्थाको अन्त्य गर्न चाहन्छौ , राष्ट्रिय पुँजीको विकास र संरक्षण गर्न चाहान्छौ ।’

    उनले यसो भनिरहदा रोपाह र हलीहरु उत्साहित भएका थिए । बाँके, बर्दिया, कालिकोट, सुर्खेत, सल्यान लगायतका जिल्लाहरुबाट नेकपाका नेता तथा कार्यकर्ताहरु धान रोपाईमा सहभागी थिए । नेकपाले जम्मा ६ विगाह जमिनमा धान रोप्ने छ । जसअन्तरगत २ विगाह केन्द्रीय उत्पादन विभाग, २ विगाह,कर्णाली प्रदेश पार्टीको उत्पादन विभाग र २ विगाह वाँके जिल्ला पार्टीको उत्पादन विभागका लागि धान रोप्ने छ ।
    नेकपाले विहिवार करिव आधा विगाह खेतमा धान रोपेको हो । नेकपाका उत्पादन विभाग सदस्य विराट सीका अनुसार पानीको अभावले धान रोपाई सुरुको दिन आधा विगाह खेतमा भएको बताए । प्रवक्ता प्रकाण्ड भने निकै जोसीलो र सक्रियताका साथ धान रोपाईमा अन्तीमसम्म सहभागी भए ।

    दिउसोको करिब १ बजेको थियो । सबै नेता तथा कार्यकर्ताहरुले विहानको भोजन गर्न थाले । पहिलो दिनको रोपाईलाई विट मारे । एउटा केन्द्रीय स्तरको नेता तथा पूर्वमन्त्री प्रकाण्ड सीको छुपु –छुपु धान रोईले देशलाई मात्र होईन विदेशलाई समेत नयाँ सन्देश दिन सफल भयो । यो कुनै प्रकाण्डको व्यक्तिगत फाईदाको लागि थिएन । यो देश,जनता र पार्टीको सामुहिक हितका लागि नयाँ योगदान थियो । यो नेपालका अरु पार्टीका नेताहरुलाई पनि नयाँ चुनौती र सन्देश दुबै थियो । यसलाई नेपालका सवै नेता तथा पार्टीहरुले अनुसरण गरे देश आफै समृद्ध हुनेमा कुनै संका छैन । यस्तै उत्पादनको काममा सबै लाग्ने बातावरण बनाउनु हामी सच्चा नेपाली सबैको जिम्मेवारी र दायित्व हो ।

    प्रतिकृया दिनुहोस्