News Portal

सडक खाली गराएर पशुपति मन्दिरमा पुजाअर्चना

जनगर्जन संवाददाता
२२९ पटक

काठमाडौँ– राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट शुक्रबार आफ्नै बाचाविपरीत रामचन्द्र पौडेल सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर गएका छन्।
पौडेल बिहान ९ बजेतिर पुजाका लागि पशुपति पुगेका थिए। उनले त्यहाँ करिब डेढ घन्टा पूजा गरेका थिए। उनी पशुपति जाँदा र त्यहाँबाट निस्किँदा सडकको बायाँ लेन खाली गराइएको थियो।
पशुपतिमा पूजा सकाएपछि करिब पौने ११ बजे त्यहाँबाट पौडेल सुन्दरीजल गएका छन्। त्यहाँ उनले बीपी कोइरालाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।

पौडेलको सवारीका लागि एकातर्फको लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो। कार्यालय जाने समयमा जाममा फसेका सर्वसाधरणले हर्न बजाएर असन्तुष्टि जनाएका थिए।

राष्ट्रपति निर्वाचनमा पहिलो मत खसालेपछि पौडेलले बिहीबार संसद् भवनको ल्होत्से हलमा पत्रकारहरूसँग राष्ट्रपति निर्वाचित भएपछि आफूले सर्वसाधारणलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने बताएका थिए। उनले भनेका थिए, “म राष्ट्रपति बनेपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सडक जामको सास्ती भोग्नुपर्दैन।”

प्रतिकृया दिनुहोस्