News Portal

त्रिभुवन विश्वविद्यालयमा पुनः विवाद, अखिल क्रान्तिकारीले पदाधिकारीहरूलाई प्रवेशमा रोक

जनगर्जन संवाददाता२०८२ आषाढ २२
१९ पटक

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिसहित उच्च पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश गर्न रोक लगाएको छ।

सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाइएको ताला तत्काल खोल्न आदेश दिएको थियो। अदालतले गृह मन्त्रालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरलाई तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसअनुसार शुक्रबार बिहान त्रिविका आंशिक प्राध्यापकहरूले आफ्नै पहलमा ताला खोलेका थिए।

ताला खोलिएसँगै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विश्वविद्यालय प्रशासनमाथिको असन्तोष झनै चर्काउँदै पदाधिकारीहरूलाई विश्वविद्यालय प्रवेशमा निषेध गरेको हो।

त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूका माग पूरा नभएसम्म विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेश गर्न नदिने निर्णय गरिएको बताएका छन्। संगठनले विश्वविद्यालय प्रशासनमाथि चरम उपेक्षा र असंवेदनशीलताको आरोप लगाउँदै तत्काल समस्याको समाधान गर्न माग गरेको छ।

यसरी सर्वोच्च अदालतको आदेशपछि ताला खुले पनि विश्वविद्यालयको वातावरण अझै सामान्य बन्न सकेको छैन। पदाधिकारीहरूको प्रवेश निषेधसँगै त्रिविमा नयाँ चरणको आन्दोलन सुरु भएको देखिएको छ।

प्रतिकृया दिनुहोस्